बुधबारसम्म देशका अधिकांश स्थानको मौसम खराब रहने भएको छ ।
पश्चिमी न्यूनचापीय प्रणालीका कारण भएको बदलीले देशका विभिन्न स्थानमा वर्षा र हिमपात गराएको जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार भित्रिएको सो प्रणालीका कारण सोमबारदेखि देशभर तापक्रम घट्दो क्रममा छ ।अझै दुई दिन यही अवस्था रहने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।
मङ्गलबार राति देशका पहाडी तथा उच्च हिमाली भेगमा अन्य दिनभन्दा बढी वर्षा र हिमपात भएको छ । यो क्रम बुधबार रातिसम्म जारी रहने महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । काठमाडौँ उपत्यकालगायत पहाडी भेग छोएका जिल्लामा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पहाडी तथा उच्च हिमाली भेग छोएका पश्चिम नेपालका भूभागमा अहिलेको प्रणालीले बढी असर पारेको महाशाखाले जनाएको छ ।
यीबाहेक तराईसहितका भूभागमा भने कम असर रहेको छ । तराईका विभिन्न जिल्लामा भने शीतलहर र हुस्सु कुहिरोको प्रभाव कायमै रहेको औँल्याइएको छ । बिहीबार दिउँसोदेखि भने मौसममा हल्का सुधार आउने महाशाखाले जनाएको छ ।