नन रेसिडेन्ट नेपाली एसोसियसन अन्तर्राष्ट्रिय तदर्थ समिति गठन गरिएको छ ।
माधव मरासिनीको संयोजकत्वमा नन रेसिडेन्ट नेपाली एसोसियसन अन्तर्राष्ट्रिय तदर्थ समिति गठन गरिएको हो ।
एनआरएनको चुनाव गर्न नसकेर संस्थालाई बदनाम बनाउने खेल भइरहेकोले नेपालीलाई फेरि एकताबद्ध गरेर चलायमान, पारदर्शी र प्रजातान्त्रिक संस्थाको अपरिहार्यता महसुस गर्दै समिति गठन गरिएको संयोजक मरासिनीले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
आफूहरुको हितका लागि खोलिएका संस्था व्यक्तिगत कमाइ खाने भाडो, राजनीति स्वार्थ पूरा गर्ने थलो र धनीहरूको क्लबजस्तो हुँदा नन रेसिडेन्ट नेपालीहरूमा निराशा प्रदा भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसबारेमा पटकपटक सचेत गराउँदा पनि नेतृत्व तहले सुधार गर्नुको साटो झन गुटबन्दी गरेको, निषेध गरेको र सामाजिक सञ्जालमा ब्लक गर्नेलगायतका गतिविधि गरिएको आरोप लगाएको छ ।
गठन गरिएको नन रेसिडेन्ट नेपाली एसोसियसन अन्तर्राष्ट्रिय तदर्थ समितिमा सबै देशमा प्रतिनिधिहरु समावेश भएको, विधान निर्माणदेखि अन्य संस्थागत कामहरू द्रुत गतिमा भइरहेकोले यो अभियानमा जोडिन संयोजक मरासिनीले सबैमा आह्वान गरेका छन् ।