नेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी ८औं महाधिवेशनको आज तेस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन र नेता देवप्रसाद गुरुङको विधान मस्यौदामाथि समूहगत रुपमा आफ्नो धारणा राख्ने क्रम सुरु भएको छ ।
आज ११ वटा समूहले आफ्नो समूहगत धारणा राखेका छन् । बाँकी समूहले भालि आफ्नो धारणा राख्नेछन् ।
कमलदाीस्थित प्रज्ञा भवनमा भइरहेको बन्दसत्रमा छलफलका लागि विभिन्न २५ समूह बनाइएका थिए । समूहका टोली नेताले प्रतिवेदनमाथि समूहगत छलफलमा उठेका विषय वस्तुमाथि आफ्नो धारणा राख्ने क्रम सुरु भएको हो ।
बन्दसत्र सञ्चालनका लागि तय गरिएको अध्यक्ष मण्डलले टोली नेतालाई आफ्नो समूहको धारणा राख्नका लागि १५ मिनेटको समय प्रदान गरेको केन्द्रीय प्रचार समितिले जानकारी दिएको छ ।
टोली नेताले आफ्नो समूहको धारणा राख्न र छलफलका क्रममा उठेका विषयलाई लिखितरुपमा पनि प्रस्तुत गर्न निर्देशन दिइएको छ । बन्दसत्रमा नेता सुरेन्द्र कार्कीले पनि पूरक प्रतिवेदन पेश गरेका थिए ।
बुधबार सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टंक राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश १ बाट अजम्बर काङमाङ राई र हर्कबहादुर नेम्वाङ, प्रवास समन्वय समितिबाट मनऋषि धिताल, वागमती प्रदेशबाट सरल सहयात्री, केन्द्रीय विभागबाट गीता पनेरु, सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कँवर र कर्णाली प्रदेशबाट विमला केसीले समूहको निष्कर्ष प्रस्तुत गरे ।