नेपालगञ्जस्थित भेरी अस्पतालको कर्मचारी आवास गृहमा निसास्सिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कालीकोटको खाँडाचक्र नगरपालिका–६ का धनप्रसाद भट्टराईका परिवारका चार जना रहेका छन् । २४ वर्षीय धनप्रसादसँगै उनकी आमा कोपिला, दिदी नन्दकली र तीन महिनाका छोरा इप्सन भट्टराईको निस्सासिएर मृत्यु भएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । धनप्रसाद अस्पतालको स्टोर शाखामा कार्यरत थिए ।
खाँडाचक्र नगरपालिका–६ कालीकोट निवासी उनीहरु एउटै कोठामा सुतेका बताइएको छ । चिसोमा कोइला बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
उक्त कोठामै अन्य तीन जना अचेत अवस्थामा फेला परेका थिए । ती मध्ये एक जनाको होस खुलेपनि दुई जना अझै अचेत अवस्थामै रहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । तीनै जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।
आज बिहान करिब ६ बजेतिर कोठामा गएर अन्य कर्मचारीले हेर्दा चार जना मृतास्थामा फेला परेका थिए ।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले घटनास्थल हेर्दा निसास्सिएर मृत्यु भएको आशङ्का गरिए पनि विस्तृत कुरा शव परीक्षण रिपोर्टले बताउने जानकारी दिए ।