निर्मल लामा बहुप्राविधिक शिक्षालयमा रहेको जनयुद्धका सहिद रामबृक्ष यादव (मास्टरसाब) को शालिक हटाइएको विषय नेकपा माओवादी केन्द्रका जारी महाधिवेशनमा पनि उठेको छ ।
जारी महाधिवेशनको बन्दसत्रमा एक समूहका नेता रहेका पुर्वमन्त्री सत्यनारायण भगतले सहिद यादवको सालिक हटाएकोप्रती खेद प्रकट गरेका छन् । स्रोतका अनुसार भगतले यादवको सालिक हटाउनु गलत रहेको र पुनःस्थापना गर्न माग गरेका छन् । उनले समूह छलफलको निष्कर्ष सुनाउने क्रममा सालिक हटाएकोप्रति खेद व्यक्त गर्दै भनेका थिए, ‘सहिद सबैको साझा हुन्छ । कुनै जात धर्म वा समुदायको हुँदैनन ।’
आलोचना
शिक्षालयमा रहेको सहिद यादवको शालिक केही समय अगाडि हटाइएको थियो ।
सालिक हटेपछि पार्टीभित्र व्यापक आलोचना खेपेका थिए, तत्कालीन शिक्षा मन्त्री एवम् माओवादी नेता गिरीराजमणि पोखरेल ।
महोत्तरीबाट बारम्बार सांसद भएका उनीले नै आफू शिक्षामन्त्री हुँदा निर्मल लामा बहुप्राविधिक शिक्षालयको स्थापना गरेका थिए । शिक्षालय स्थापनापछि त्यहाँ रहेको जनयुद्धका सहिद यादवको सालिक उनकै योजनामा त्यहाँबाट हटाइएको थियो ।
सरुवा गरेजस्तै सहिद यादवको सालिक हटाएको पोखरेलमाथि आरोप लाग्दै आएको छ ।
जसको बलमा गणतन्त्र आयो, आज ती सहिदहरुको सालिक हटाउनु गलत रहेको एक पुर्व माओवादी लडाकुले बताए । उनी भन्छन्, ‘जनयुद्ध नलडेर होला पोखरेलले जनयुद्धको मर्म बुझेनन् ।’
नरायणकाजी श्रेष्ठले नेतृत्व गरेको पार्टीबाट आएका नेता हुन् गिरिराजमणि पोखरेल । पछिलो समय शिक्षा र स्वास्थ मन्त्रालयको जिम्मेवारीमा सम्हालेका नेता पोखरेल बौद्धिक वर्गका नेता मानिन्छन् तर जनयुद्धको लिगेसीलाई आत्मसात नगर्नु उनको कमजोरी रहेको माओवादीको नेताको आरोप छ ।
परिवर्तनको लागि भएका सहिद सबैका साझा हुने भएकाले गर्दछन त्यही भएर सालिक हटाउन नहुने माओवादी नेताहरु तर्क गर्छन् ।
जनयुद्धको समयमा रामबृक्ष ब्रिगेडले नै मधेसलगायतको ठाउँमा मोर्चा सम्हालेको थियो ।