मुख्य प्रशिक्षक पुबुदु दशनायकेले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान परिवर्तन नहुने बताएका छन् ।
मुख्य प्रशिक्षकको रुपमा कार्यभार सम्हालेपछि पहिलो पटक बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले नेपाल क्रिकेट संघ र खेलाडीहरुको विवादमा आफू नपर्ने बताए । उनले कप्तान परिवर्तनको अधिकार क्यानलाई हुने बताए ।
क्यानले हालै मात्र ग्रेडिङमा असन्तुष्टि जनाएको भन्दै ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएर सन्दीप लामिछानेलाई जिम्मेवारी दिएको छ । उक्त निर्णयमा उनले सांकेतिक समर्थन गरे ।
उनले भने, ‘म टिममा राम्रो वातावरण बनाउन प्रयास गर्ने छु । एक–दुई दिन बन्द कोठामा बसेर छलफल गर्छु । तर बोर्डको निर्णयलाई मैले चुनौती दिन मिल्दैन ।’
उनले खेलाडीहरुको सेन्ट्रल कन्ट्राक्टको विषयलाई लिएर उत्पन्न विवाद सतप्रतिशत समाधान हुने र शुक्रबारसम्ममा बन्द प्रशिक्षणका लागि ३० जना खेलाडीको सूची तयारी गर्ने जानकारी दिए ।