अफगानिस्तानका पूर्वराष्ट्रपति अशरफ गनीले तालिबान यो वर्षको सुरुवातमा काबुलनजिकै आएपछि देश छोड्ने आफ्नो निर्णयको बचाउ गरेका छन्। उनले "काबुललाई विनाश हुनबाट बचाउन" आफू देश छाडेर भागेको दाबी गरेका छन्।
उनले अगस्ट १५ को बिहान त्यो दिन अफगानिस्तानमा आफ्नो अन्तिम दिन भएको भन्ने कुनै भान नभएको बीबीसी रेडिओ फोरको टुडे कार्यक्रमलाई बताएका छन्।
काबुल छोड्न विमानमा उडेपछि बल्ल आफूलाई देश छोडिरहेको जस्तो लागेको उनले बताए। अन्तिम समयमा देश छोडेर हिँडेको भनेर उनको आलोचना भएको थियो। उनी हाल यूएईमा रहेका छन्।
त्यो दिन बिहान तालिबान लडाकुहरूले काबुल नछिर्न सहमति जनाएको तर "दुई घण्टापछि कुरो अर्को भएको" गनीको भनाइ छ।
"तालिबानका दुई समूह दुई फरक दिशाबाट नजिकै आइरहेका थिए," उनले भने। "र उनीहरूसँगको ठूलो द्वन्द्वले ५० लाख बासिन्दा भएको सहरलाई ध्वस्त बनाउने थियो र मानिसमा त्यसले ल्याउने विनाश ठूलो हुने थियो।"
उनले आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकार र श्रीमतीलाई काबुल छोड्न भनेर र आफू रक्षा मन्त्रालय जान कार कुरिरहेको बताएका छन्।
कारसँगै आएका 'भयभीत' राष्ट्रपतिका सुरक्षा प्रमुखले गनीले अडान नछोडे "उनीहरू सबै मारिने बताए।" "उनले मलाई दुई मिनेटभन्दा बढी दिएनन्," गनीले भने। "मेरो निर्देशन खोस्त सहर जाने थियो तर उनले खोस्तका साथै जलालावाद पनि तालिबानको नियन्त्रणमा पुगेको बताए।"
"मलाई कहाँ जाने थाहा थिएन। जब विमान उड्यो तब बल्ल मलाई अफगानिस्तान छोड्दै गरेको थाहा भयो। त्यसैले यो सबै अचानक भएको थियो।"
गनीले देश छोडेपछि उनका उपराष्ट्रपति अमरुल्लाह सालेहसहित थुप्रैले उनको आलोचना गरेका थिए।
गनीले आफूसँग ठूलो धनराशि लगेको आरोप पनि लागेको थियो तर उनले त्यसलाई अस्वीकार गरेका छन् र आवश्यक परे अन्तर्राष्ट्रिय अनुसन्धानलाई स्वीकार्ने बताएका छन्।
"म स्पष्ट भन्न चाहन्छु कि मैले देशबाहिर कुनै पैसा लगेको छैन," उनले भने। "मेरो जीवनशैली सबैलाई थाहै छ। पैसाले मैले के गर्ने?"
गनीले अन्तर्राष्ट्रिय समुदायको धैर्य रहन्छ भनेर सोच्ने लगायतका गल्तीहरू भएको स्वीकारेका छन्।
तर उनले राष्ट्रपति डोनल्ड ट्रम्पको अमेरिका र तालिबानबीच भएको सम्झौताले अगस्ट १५ को घटनाका लागि बाटो बनाएको बताए।"शान्ति प्रक्रियाको स्थानमा हामीले छोड्ने प्रक्रिया पायौँ।" गनीका अनुसार जसरी सम्झौताहरू भए त्यसले "हामीलाई मेटिदियो।"
सम्झौता अनुसार अमेरिकाले आफ्नो सैन्य सङ्ख्या घटाउने र कैदी साटासाट गर्न सहमति दियो। त्यसबापत तालिबानले अफगानिस्तान सरकारसँग वार्ता गर्ने भनियो।
वार्ताले काम गरेन र सन् २०२१ को मध्यतिर अमेरिकी राष्ट्रपति जो बाइडनले सेप्टेम्बर ११ सम्म सबै सैनिक फिर्ता गर्ने प्रतिबद्धता जनाए।
त्यति बेलासम्म तालिबानले अफगानिस्तानका सहरहरूमा कब्जा गर्न थालिसकेका थिए।
अन्तिममा जे भयो त्यसलाई गनीले "हिंसात्मक कू" भन्दै त्यसमा "नागरिकहरू संलग्न हुने राजनीतिक सहमति वा प्रक्रिया नभएको " बताए। गनीले छोडेकै दिन तालिबानले काबुल कब्जा गरे।
त्यसयता अफगानिस्तानमा मानवीय र आर्थिक सङ्कट चुलिएको छ।
तीन महिनापछि पूर्वराष्ट्रपति गनीले काबुल तालिबानको कब्जामा जानका लागि भएका "अन्तर्राष्ट्रिय साझेदारीमाथि विश्वास गर्ने" जस्ता केही कामहरूको दोष लिन तयार भएको बताएका छन्।
उनले भने: "मेरो जीवनभरको काम ध्वस्त भएको छ। मेरो मूल्यमान्यता कुल्चिइएको छ। र मलाई बलिको बोका बनाइएको छ।" बीबीसी नेपाली