प्रधानमन्त्री शेरबहादुर देउवाले तमु समुदायको भाषा, संस्कृतिको संरक्षण र संवर्द्धन गर्न सरकारले सहयोग गर्ने बताएका छन् ।
तमु ल्होसारको अवसरमा बिहीबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रधानमन्त्री देउवाले गुरुङ समुदायको तमु ल्होसार पर्वले मुलुकको आर्थिक तथा सामाजिक विकासमा समुदायले पुर्याउँदै आएको योगदानलाई उजागर गर्दै समुदायको सभ्यता र संस्कृतिलाई अन्य समुदायसमक्ष चिनाउन मद्दत गर्ने बताए ।
‘तमु ल्होसार पर्वले तमु समुदायहरुमा विभिन्न वर्ग, संस्कृति, समुदाय र क्षेत्रसँग सम्वद्ध नागरिकको बीच आपसी मेलमिलाप, श्रद्धा र सहिष्णुता सुनिश्चित गर्न पनि सहयोग पुग्ने विश्वास लिएको छु,’ उनले भने ।
साथै उनले तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीको सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुका लागि शुभकामना व्यक्त गरे । त्यस्तै विविधताभित्र एकता र सामाजिक सद्भाव कायम गर्ने कुराहरु सांस्कृतिक सभ्यासका असल उदाहरण भएको समेत उनले बताए ।
गुरुङ समुदायले बिहीबार गाई वर्ग (ल्वो ल्ही)को बिदाई र बाघ वर्ष (तो ल्हो) स्वागत गर्दै देश–विदेशमा तमु ल्होसार मनाएको हो । गुरुङ समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, कास्की र पर्वतलगायतका जिल्लामा यो पर्व अपार उमङ्गलका साथ मनाउने गरिन्छ ।