कञ्चनपुरको बेलौरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
गए राति १०ः३० बजेको समयमा बेलौरी नगरपालिका वडा नम्बर ५ स्थित रामनगर सामुदायिक वन क्षेत्रमा विपरीत दिशातर्फ सवार दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले जानकारी दिए ।उनका अनुसार कृष्णपुर नगरपालिका वडा नम्बर २ बस्ने १९ वर्षीय विमल रानाले चलाएको सु प प्र ०१–००९ प ३७२६ नम्बरको मोटरसाइकलमा सोही ठाउँका १८ वर्षीय सञ्जय राना, १८ वर्षीय मुकेश राना र लालझाडी गाउँपालिका वडा नम्बर २ बस्ने १६ वर्षीय सन्तोष राना गरी चार जना बेलौरी तर्फ सवार गर्ने क्रममा विपरीत दिशातर्फ सवार बेलौरी नगरपालिका वडा नम्बर ४ शान्तिपुर बस्ने ३० वर्षीय हेमलाल चापागाईँले चलाएको से ३ प २४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुवै मोटरसाइकलका चालक र सु प प्र ०१–००९ प ३७२६ नम्बरको मोटरसाइकलको पछाडि सवार सबै जनालाई उपचारका लागि बेलौरी स्थित ईशान मेमोरियल अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा विमल रानाको मृत्यु भएको प्रहरी जनाएको छ । गम्भीर घाइते हेमलाल चापागाईँको थप उपचारका लागि धनगढी पठाइएको छ । अन्य तीन जनाको बेलौरी स्थित ईशान मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक खड्काले बताए।