अमेरिकाकी एक स्कुलकी शिक्षिकाले उडानको क्रममा कोरोना पोजेटिभ देखिएपछि हवाईजहाजको शैचालयमा ५ घण्टा सेल्फ आइसोलेसनमा बसेकी छन् ।
उनले आफ्नो स्वइच्छाले त्यसो गर्ने निर्णय गरेको बताएकी छन् । उनले आफूलाई पाँच घण्टा हवाईजहाजको शैचालयमा सेल्फ आइसोलेट गरेको घटना चर्चामा आएको छ र विमानको शैचालयबाट टिकटिक भिडियो अपलोड गरेपछि उक्त विषय सामाजिक सञ्जालमा भाइरल भएको छ ।
मारिसा फोसियोले डिसेम्बर २० मा शिकागोबाट आइसल्याण्डको उडानको क्रममा घाँटी दुखेको महसुस गरेको बताइन् । उनीसँग र्यापिड टेस्ट किट थियो, त्यसैले उनले त्यही समयमा आफ्नो कोरोना परीक्षण गरिन् र जुन पोजेटिभ आयो ।
त्यसपछि उनले आफूलाई आइसोलेसनमा राख्ने निर्णय गरिन् र शौचालयमा बसेर बाँकी यात्रा पूरा गरिन् । यस क्रममा विमान परिचरले उनलाई खाना र पेय पदार्थ दिए । मारिसाले भनिन्, ‘यो एक पागल अनुभव थियो । उडानमा १५० जना सवार थिए र मेरो कारण अरु व्यक्ति पनि संक्रमित हुन्छ कि भन्ने डर मलाई त्यति बेला भएको थियो ।’
मारिसाले आइसल्याण्ड एयरको विमानको शौचालयबाट टिकटकमा भिडियो पनि पोस्ट गरिन् । यस क्रममा उनलाई सहयोग गर्ने एक उडान परिचरको पनि प्रशंसा गरे ।
उनले आइसल्याण्डमा अवतरण गरेपछि रेडक्रस होटलमा आइसोलेसनमा बसेको बताइन् ।