नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशन अन्तर्गत आजको बन्दसत्रमा केन्द्रिय सदस्य चयन प्रक्रिया सुरु हुने भएको छ ।
पुस ११ गतदेखि जारी महाधिवेशन अन्तर्गत आज अपराह्न १ बजे सुरु हुने बन्दसत्रले प्रस्तुत सबै प्रतिवेदन पारित गर्दै केन्द्रिय सदस्य चयन प्रक्रिया सुरु गर्ने भएको हो ।आजको बन्दसत्र सुरु भए लगत्तै लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरिएको छ । सो प्रतिवेदनहरू पारित भएपछि विधान संशोधन मस्यौदामाथि उठेका प्रश्नको जवाफ नेता देवप्रसाद गुरुङले र राजनीतिक दस्ताबेजमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिनेछन् ।
अध्यक्ष प्रचण्डले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि विभिन्न समूहहरूबाट आएका सुझावहरूको प्रस्टीकरणका लागि आवश्यक छलफल गर्न स्थायी समिति बैठक बसेको छ ।नेता गुरुङको विधान संशोधन मस्यौदा र अध्यक्ष प्रचण्डको राजनीतिक दस्ताबेजमा महाधिवेशन प्रतिनिधिहरूको समूहगत धारणा राख्ने क्रम हिजो सकिएको थियो ।आज अध्यक्ष प्रचण्डको जवाफसँगै राजनीतिक प्रतिवेदन पारित हुनेछ ।बन्दसत्रमा प्रस्तुत प्रतिवेदनहरू पारित भए लगत्तै केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्ने माओवादी केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए।
बन्दसत्रमा केन्द्रीय सदस्यको नामसहितको प्यानल घोषणा गर्ने तयारी गरिएका छ । सो नाममा कसैले दाबी विरोध गरेमा वा सर्वसम्मत हुन नसेकेमा मात्र निर्वाचन हुनेछ ।माओवादी केन्द्रको विधान अनुसार महाधिवेशन हलले केन्द्रीय सदस्यहरु मात्रै चयन गर्ने व्यवस्था गरेको छ । प्रतिनिधिहरूले केन्द्रीय सदस्य टुङ्गो लगाएपनि पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो समितिको चयन केन्द्रीय समितिले गर्नेछ ।