नेकपा (माओवादी केन्द्र)को आजको बन्दसत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।
राजनीतिक प्रतिवेदनका सन्दर्भमा उठेका जवाफ दिएपछि अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको हो ।
बुधबार र बिहीबार अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा विभिन्न २५ समूहमा भएको छलफलको निष्कर्ष सुनाइएको थियो ।
प्रचण्डले सोमबार ४५ पृष्ठ लामो ‘२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।
प्रचण्डको प्रतिवेदनमा हरिबोल गजुरले, लेखनाथ न्यौपाने र राम कार्कीले पुरक दस्तावेज र फरक मत राखेका थिए । सो क्रममा कार्कीलगायतका पुरक मत समेटिने र न्यौपानेको फरक मतलाई सुरक्षित राखिने निर्णय भएको छ ।
अब महाधिवेशनमा निर्वाचनको प्रक्रिया सुरु गरिने माओवादीले जनाएको छ । जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ ।
जवाफ दिने क्रममा के भने ?
प्रतिवेदनमा उठेका प्रश्नहरूमाथि प्रचण्डले आज दुई घण्टा लगाएर जवाफ दिएका थिए । उनले यसमा आएका सुझावहरूलाई समेट्दै प्रतिवेदनमा व्यापक सुधार गर्ने प्रतिबद्धता जनाए ।
प्रचण्डले पार्टीका नेता तथा कार्यकर्ताले दिएको सुझावका आधारमा राजनीतिक प्रतिवेदनलाई समृद्ध बनाउने विश्वास दिलाए । प्रतिवेदनपछि बन्दशसत्रको हलदेखि बाहिर तरङ्ग, उत्साह र जिज्ञासा व्यक्त भएको तथा महाधिवेशनप्रति देशको ध्यान केन्द्रित रहेकाले सबैको चासोलाई उपयुक्त रूपमा सम्बोधन गर्ने उनले बताए ।
उनले पार्टीलाई जनपक्षीय बनाउन र देश तथा जनताको हितमा केन्द्रीत गर्न आफैबाट शुरु गर्ने प्रतिवद्धता व्यक्त गर्दै माओवादी मात्रै भरोसायोग्य शक्ति हो भन्ने स्थापित गराएरै छाडिने दृढता व्यक्त गरे । उनले माओवादीको महाधिवेशनका कारण देशको राष्ट्रिय राजनीतिमा समेत नयाँ ऊर्जा प्राप्त भएको बताए ।
उनले भने, ‘हाम्रो पृष्ठभूमि र विरासतको कारणले माओवादी नामका क्रान्तिकारी जनयुद्ध र जनआन्दोलनको संवाहक पार्टी भएको नाताले, यो परिवर्तनसँग पार्टी आन्दोलन विरासत जोडिएकाले यो महाधिवेशनप्रति देश तथा दुनियाँको ध्यान छ ।’ माओवादीले कस्तो कार्यक्रम ल्याउने हो, कस्तो सङ्गठन बनाउने हो, कस्तो निर्णय गर्ने हो भन्ने आम रूपमा चासो पैदा भएको भन्दै उनले भने, ‘कसैले २१ शताब्दी फड्को हान्न खोजे पनि भने । कतिले २०औँ शताब्दीमा फर्कन खोजेको भने । कतिले किताबबाट सारेको पनि भने । कतिले पुरानै बाटोमा जाने भयो पनि भने । तर, यो महाधिवेशन अरुभन्दा फरक रह्यो ।’
सुुरुदेखि नै विचारको विकासलाई प्रमुख स्थानमा राखेको भन्दै उनले पार्टी रुपान्तरणमा केन्द्रित बनेको र सोही आधारमा कम्युनिष्ट आन्दोलनको इतिहासमा समेत दर्ज भएको बताए । दक्षिण, वाम या मध्यमार्गी कोणबाट नै किन नआएको होस्, यो महाधिवेशनमा विचारको विकास गर्ने सन्दर्भमा वा आत्मसमीक्षाको रुपमा पनि जनतासँग जोडिने सवालमा महत्वपूर्ण रहेको अध्यक्ष प्रचण्डको भनाइ छ ।
नयाँ बहसको सृष्टि गर्ने महाधिवेशनका रूपमा पनि दर्ज भएको उनले स्पष्ट पारे ।
उनले भने, ‘राजनीतिक एजेन्डा ल्याउने र स्थापित गर्ने त माओवादी हो भन्ने भएको छ । महाधिवेशन उद्घघाटन शत्रमा पनि यहाँहरूले सुन्नु भो प्रचण्डले नै हो परिवर्तन ल्याएको, संविधानसभा, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता, सङ्घीयता सबैसबै ल्याउन भूमिका खेलेको भनेर कांग्रेस सभापतिले नै भन्नुभयो ।’
आफूले प्रस्तुत गरेको प्रतिवेदन बन्दशत्रको साझा सम्पत्ति भएको भन्दै उनले सबैको सुझाव समेटिने विश्वास दिलाए ।