नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनबाट विधान पारित भएको छ ।
स्थायी समिति सदस्य देवप्रसाद गुरुङले पेस गरेको विधान मस्यौदामाथि आएका सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिएपछि शनिबार कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रले पार्टी विधान पारित गरेको हो ।
बन्दसत्रमा उठेका सुझावहरु समेटेर विधान परिमार्जन गर्ने र केन्द्रीय समितिले अन्तिम रुप दिने गरी विधान पारित गर्न नेता गुरुङले आग्रह गरेपछि महाधिवेशनबाट पार्टीको विधान मस्यौदा सर्वसम्मतिले पारित भएको हो ।
विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ। केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्याइएको छ ।
महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ । पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ । ५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ । केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुनेछ ।
विधान पारित भएपछि केही समयका लागि बन्दसत्र स्थगित भएको छ । अहिले पार्टीको स्थायी कमिटी बैठक महाधिवेशनस्थल प्रज्ञा भवनमा चलिरहेको छ ।