नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ ।
बैठक माओवादी केन्द्रको ८औं महाधिवेशन जारी कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमै स्थायी समिति बैठक बसिरहेको हो ।
बैठकले पार्टीको केन्द्रीय सदस्यको नाम टुंगो लगाउने बताइएको छ । बैठकमा ८ प्रदेशबाट प्राप्त नामावली अनुमोदन गर्नेगरी केन्द्रीय सदस्यको नाम टुंगो लगाउने प्रयास भइरहेको छ ।
माओवादीले ५० प्रतिशत खुला र ५० प्रतिशत सामानुपातिकबाट केन्द्रीय समिति निर्माण गर्ने जनाएको छ ।
माओवादी केन्द्रको विधानअनुसार अबको केन्द्रीय समितिमा १५ जना पदाधिकारीसहित २ सय ९९ सदस्य रहनेछन् ।
बैठकपछि बन्दसत्रमा पदाधिकारीसहित केन्द्रीय समितिमा रहनेहरूको सूची घोषणा गर्ने तयारी छ । सहमति भए ध्वनि मतका साथ पास गर्ने नभए चुनाव सुरु गर्ने तयारी छ ।
नेतृत्व चयन गर्न माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।