नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन आइतबार सकिएको छ । गत आइतबार पुस ११ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको आठौं राष्ट्रिय महाधिवेशन ८ दिनमा सकिएको हो ।
उद्घाटनसत्र सकिएसँगै १२ गते सुरु भएको बन्दसत्र २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गर्दै सकिएको हो ।
आठौं राष्ट्रिय महाधिवेशन सम्बन्धी प्रेस नोट
प्रेस नोट
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन आज (१८ पुस २०७८) मा सम्पन्न भएको छ । महाधिवेशन बारे जानकारी गराउन यो प्रेस नोट जारी गरिएको छ ।
१ ११ पुस २०७८ दिउँसो कमलादीस्थित प्रज्ञा प्रतिस्ठान भवनमा पार्टी अध्यक्ष क पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा सम्माननीय प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष क माधवकुमार नेपाल, नेकपा एमालेका महासचिव क शंकर पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाही, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष क दुर्गा पौडेल, नेकपा (क्रान्तिकारी माओवादी) का नेता क सीपी गजुरेल, नेकपा (माले) का महासचिव क। सीपी मैनालीले महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
२ १२ पुसमा २०७८ बाट महाधिवेशनको बन्द सत्र सुरु भयो । बन्द सत्रको पहिलो दिन पार्टी अध्यक्ष क प्रचण्डले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा २५ पृष्ठको वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत गर्नुभयो । पार्टी स्थायी कमिटी सदस्य क देवप्रसाद गुरुङले पार्टीको विधान मस्यौदा प्रस्तुत गर्नुभयो । वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि छलफलका लागि महाधिवेशन प्रतिनिधिहरुलाई २५ वटा समूहमा विभाजित गरियो ।
३ १३ पुस २०७८ मा वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामा २५ वटै समूहमा वृहत् छलफल भयो । समूहगत छलफल १४ पुस अपरान्ह १२ बजेसम्म जारी रह्यो ।
४ १४ पुस २०७८ को अपरान्ह १ बजेबाट समूहगत छलफलको प्रस्तुति सुरु भयो । ११ वटा समूह प्रमुखले उक्त दिन आ–आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्नुभयो । बाँकी समूह प्रमुखले १५ पुसमा समूहगत निकर्ष प्रस्तुत गर्नुभयो ।
५ १६ पुस २०७८ मा पार्टीको केन्द्रीय अनुशासन, निर्वाचन र लेखा आयोगका प्रमुखहरुले आयोगको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
६ १६ पुस २०७८ मा पार्टी अध्यक्ष प्रचण्डले महाधिवेशनमा प्रस्तुत ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि जवाफ दिनुभयो । उहाँले स्थायी कमिटी सदस्य क। राम कार्कीले राख्नुभएको पुरक प्रस्तावलाई स्वीकार गरेर दस्तावेजमा समावेश गर्ने र केन्द्री सदस्य क। लेखनाथ न्यौपानेले राख्नुभएको भिन्न मतलाई भिन्न मतकै रुपमा स्वीकार गरेको जानकारी गराउनुभयो । समूहगत छलफलमा आएका महत्वपूर्ण सुझावहरुलाई दस्तावेजमा समावेश गर्ने अध्यक्ष क। प्रचण्डको प्रतिबद्धतापछि ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेजलाई महाधिवेशनको बन्द सत्र हलले सर्वसम्मतले पारित गर्यो ।
७ १७ पुस २०७८ मा पार्टी स्थायी कमिटी सदस्य क देवप्रसाद गुरुङले विधान मस्यौदामाथि समूहगत छलफलबाट आएको सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिनुभयो । पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय हुने, ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीबाट महाधिवेशनले केन्द्रीय कमिटी चयन गर्ने, केन्द्रीय कमिटीले पोलिट्व्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्ने, पोलिट्व्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन गर्ने सहितको विधानलाई महाधिवेशन हलले सर्वसम्मतले पारित गर्यो ।
८ १७ पुस २०७८ दिउँसो मतदाता नामावली प्रकाशन गरेर निर्वाचन आयोगले केन्द्रीय कमिटी सदस्यका निर्वाचन प्रक्रिया सुरु गर्यो । महाधिवेशन आयोजक कमिटीलाई महाधिवेशनले केन्द्रीय कमिटीको सहमतिको सूची ल्याउने जिम्मेवारी प्रदान गर्यो ।
९ १८ पुस २०७८ मा महाधिवेशनको बन्द सत्रमा अध्यक्ष मण्डलले पार्टीको केन्द्रीय अनुशासन, निर्वाचन र लेखा आयोगका पदाधिकारी र सदस्यहरुको नाम प्रस्तुत गर्यो । तीनवटै आयोगका यसअघिका पदाधिकारी र सदस्यहरुको नामलाई महाधिवेशनले अनुमोदन गरेको हो । पार्टीको केन्द्रीय अनुशासन आयोगको प्रमुखमा क टंक राई, निर्वाचन आयोग प्रमुखमा क विष्णुपुकार श्रेष्ठ र लेखा आयोगको प्रमुखमा क। पेशल खतिवडा हुनुहुन्छ ।
१० पार्टीको केन्द्रीय कार्यालयका मुख्य सचिव क श्रीराम ढकालले आठौं राष्ट्रिय महाधिवेशनको आय व्यय प्रस्तुत गर्नुभयो ।
११ बन्द सत्रमा स्थायी कमिटी सदस्य क गिरिराजमणी पोखरेलले समसामयिक प्रस्ताव प्रस्तुत गर्नुभयो । समसामयिक प्रस्तावलाई महाधिवेशनले सर्वसम्मत पारित गरेको छ ।
१२ पार्टी अध्यक्ष क प्रचण्डले महाधिवेशन आयोजक समितिको तर्फबाट २९९ सदस्यीय केन्द्रीय सदस्यमा ६३ जना रिक्त राखेर २३६ जनाको नाम बन्द सत्र समक्ष प्रस्तुत गर्नुभयो । अध्यक्ष क प्रचण्डले प्रस्तुत गर्नुभएको केन्द्रीय सदस्यहरुको नाम महाधिवेशनले सर्वसम्मतले पारित गर्यो ।
१३ अध्यक्ष क। प्रचण्डबाट प्रस्तुत केन्द्रीय सदस्यहरुको नामावली बन्द सत्रले सर्वसम्मत पारित गरेपछि निर्वाचन आयोगका प्रमुख क विष्णुपुकार श्रेष्ठले निर्वाचन आयोगका तर्फबाट हलबाट पारित नामावलीहरु नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो ।
१४ नवनिर्वाचित केन्द्रीय समितिको तर्फबाट पार्टीका निवर्तमान अध्यक्ष तथा नवनिर्वाचित केन्द्रीय सदस्य क प्रचण्डले महाधिवेशनलाई संक्षिप्त संबोधन गर्नुभयो । उहाँले विधान बमोजिम पार्टीको केन्द्रीय कमिटीको पहिलो बैठक जेष्ठ सदस्यको अध्यक्षतामा बस्ने र बैठकले पार्टीको अध्यक्ष र पदाधिकारीहरु चयन गर्ने जानकारी गराउनुभयो ।
१५ अध्यक्ष मण्डलका अध्यक्ष क। कृष्णबहादुर महराले महाधिवेशनको बन्द सत्र सम्पन्न भएको घोषणा गर्नुभयो । यससँगै ११ पुस २०७८ मा सुरु पार्टीको आठौं राष्ट्रिय महाधिवेशन विधिवत रुपमा सम्पन्न भयो ।
१८ पुस, २०७८
प्रचार तथा प्रकाशन उपसमिति
आठौं राष्ट्रिय महाधिवेशन, नेकपा (माओवादी केन्द्र)