संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट बनाउने काम रोक्न निर्देशन दिएका छन् ।
नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट बनाउने विषयमा सञ्चारमाध्यमहरुमा आएका समाचारका कारण विवाद सृजना हुन गएकाले मन्त्री आलेले उक्त कार्य रोक्न निर्देशन दिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले रेस्टुरेन्ट बनाउने भनिएको बतास अर्गनाइजेसन अन्तरगतको बी म्यानेजमेन्ट प्रालिलाई पत्र लेख्दै अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य रोक्न भनेको छ । योसँगै नारायणहिटीमा रेस्टुरेन्ट निर्माणको काम रोकिएको छ ।
नारायणहिटी दरबार संग्रहालयको करिब १० रोपनी क्षेत्र रेस्टुरेन्टले प्रयोग गर्न लागेको कम्पनीसँग मासिक अढाइ लाख रुपैयाा लिने गरी सम्झौता भएको बताइएको छ ।