स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको थप मात्रा दिने कार्यक्रम स्थगित गरेको छ ।
मन्त्रालयले मंगलबारदेखि कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका लक्षित व्यक्तिलाई खोपको थप मात्रा दिइने बताएको थियो ।
तर, मंगलबार अपराह्न एक सूचना जारी गर्दै मन्त्रालयले उक्त कार्यक्रम हाललाई स्थगित गरिएको जानकारी दिएको छ ।
राष्ट्रिय खोप अभियान दु्रत गतिमा सञ्चालन गर्नुपर्ने भएकाले थप प्राविधिक विषयमा छलफल तथा तयारीपछि माघमा थप खोप दिइनेबारे जानकारी गराइने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सरका रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी सङ्क्रमण भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामी र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष तथा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोपको अतिरिक्त मात्रा दिने बताएको थियो ।