कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्न थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा हप्ताको अन्त्यमा निशेधाज्ञा लगाउने निर्णय भएको मंगलबार बसेको दिल्ली सरकारको मन्त्रिपरिषद् बैठकपछि अधिकारीले बताएका छन् ।
उपमुख्यमन्त्री मनिष सिसोदियाले संघीय राजधानीसमेत रहेको नयाँ दिल्ली र घना क्षेत्र रहेका आसपासका ठाउँसमेतलाई मध्यनजर गरी यो निर्णय गरिएको पुष्टि गरे । हप्ताका अन्य दिनमा भने दिल्लीका बस तथा मेट्रो रेल साबिक झैँ सञ्चालन हुनेछन् । उनले हप्तान्तको निशेधाज्ञालाई लकडाउनका रूपमा भने नबुझ्न आग्रह गरे ।
कोभिड सङ्क्रमणको जोखिम कायमै रहेकाले सार्वजनिक यातायातमा यात्रा गर्दा मास्कविना यात्रा गर्न नपाइने नियमलाई कडाइका साथ लागू गरिने उनले बताए ।
त्यसैगरी सरकारले निजी कार्यलयहरूलाई पनि ५० प्रतिशत कर्मचारीको सहयोगमा नियमित कामकाज गर्ने व्यवस्था गर्न भनेको छ । सरकारले बाँकी ५० प्रतिशतलाई छुट्टी दिन वा घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।