१२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल एक भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई चुनौती थपिएको छ ।
२० फागुनबाट राष्ट्रिय सभामा रिक्त हुने १९ पदमध्ये ८ पद एमालेकातर्फबाट रिक्त हुँदै छ । यस्तै, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन सदस्यको पदावधि पनि सोही मितिमा सकिँदै छ ।
तर, गठबन्धनसहित अघि बढेका सत्तारूढ दललाई राष्ट्रिय सभा निर्वाचनमा थप नाफा हुने देखिँदा एमालेलाई भने चुनौती थपिएको हो ।निर्वाचन आयोगले सात महिला, तीन दलित, दुई अपांगता भएका तथा अल्पसंख्यक र सात अन्य विभिन्न समूह गरी १९ सिटका लागि १२ माघमा निर्वाचन गराउन लागेको छ ।
सोही प्रयोजनका लागि मंगलबार आयोगले उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखेकोमा सातै प्रदेशमा गरी ४३ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ मा महिलातर्फको रिक्त हुने एक सिटका लागि तीन जनाको उम्मेदवारी परेको छ । यस्तै, सो प्रदेशमा अपांगता भएका वा अल्पसंख्यकतर्फ दुई जनाको उम्मेदवारी परेको छ भने अन्य समूहतर्फ तीन जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेश १ मा रिक्त हुने तीन पदमा सबै गरी आठ जनाको उम्मेदवारी परेको हो । जसमा तीनै समूहबाट गरी एक/एक जना अर्थात् कुल तीन जना निर्वाचित हुनेछन् ।
यसैगरी, प्रदेश २ मा महिला समूहतर्फ तीन जना तथा अन्यतर्फ दुई जनाको गरी पाँच जनाको उम्मेदवारी परेको छ । प्रदेश २ मा दुवै समूहबाट गरी दुई जना निर्वाचित हुनेछन् ।
यसैगरी, बाग्मती प्रदेशमा महिलातर्फ तीन र अन्यतर्फ समेत ३ गरी ६ जनाको उम्मेदवारी दर्ता भएको छ । बाग्मतीमा दुई पद रिक्त हुँदै छ ।
यसैगरी, गण्डकी प्रदेशमा महिला समूहतर्फ दुई जना, दलिततर्फ दुई जना र अन्य समूहतर्फ दुई जना गरी ६ जनाको उम्मेदवारी दर्ता भएको छ । यी सबै समूहबाट एक/एक जना गरी तीन जना यो समूहबाट निर्वाचित हुनेछन् ।
लुम्बिनीमा पनि महिलातर्फ दुई, दलिततर्फ दुई र अन्यतर्फ दुई जना गरी जम्मा ६ जनाको उम्मेदवारी परेको छ । सो प्रदेशमा यी तीनै समूहबाट एक/एक जना गरी तीन जना निर्वाचित हुनेछन् ।
यसैगरी, कर्णाली प्रदेशमा महिलातर्फ दुई जना, अपांगता भएका वा अल्पसंख्यकतर्फ दुई जना र महिलातर्फसमेत दुई जनाकै उम्मेदवारी परेको छ । यी तीनै समूहबाट एक/एक जना गरी तीन जना निर्वाचित हुनेछन् ।
यस्तै, सुदूरपश्चिम प्रदेशमा महिलातर्फ दुई, दलिततर्फ दुई र अन्य समूहतर्फ दुई जना गरी ६ जनाको उम्मेदवारी परेको छ । सो प्रदेशमा तीनै समूहबाट एक/एक जना गरी तीन जना निर्वाचित हुनेछन् ।
कुन प्रदेशमा कति छ मतभार ?
निर्वाचन आयोगका अनुसार प्रदेश १ मा ९२ जना प्रदेश सभा सदस्य तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख गरेर २७२ जना मतदाता छन् ।
सो प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ४ हजार ४ सय १६ तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुखको मतभार ४ हजार ८ सय ९६ छ । यी दुवैतर्फ गरेर प्रदेश १ मा कुल मतभार ९ हजार ३ सय १२ हुन्छ ।
यसैगरी, प्रदेश २ मा जम्मा ९ हजार ८ सय १६ मतभार छ । प्रदेश २ मा प्रदेश सभा सदस्य १ सय ४ जना छन् भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ६८ जना छन् ।
प्रदेश सभाका सदस्यको कुल मतभार ४ हजार ९ सय ९२ हुन्छ भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ६८ जनाको मतभार ४ हजार ८ सय २४ हुन्छ ।
यस्तै, बाग्मतीमा प्रदेशमा प्रदेश सभा सदस्य १ सय ९ जना छन्, । उनीहरूको मतभार ५ हजार २ सय ३२ हुन्छ । यसैगरी, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ३७ जना छन् । उनीहरूको मतभार ४ हजार २ सय ६६ हुन्छ । दुवैतर्फका गरी बाग्मती प्रदेशमा कुल मतभार ९ हजार ४ सय ९८ रहेको छ ।
यसैगरी, गण्डकीमा प्रदेशमा ५ हजार ८ सय ९२ कुल मतभार छ । जसमा प्रदेश सभा सदस्य ५९ जना छन् भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख १ सय ७० जना छन् ।
यस्तै, लुम्बिनी प्रदेशमा ७ हजार ७ कुल सय ५८ मतभार छ । सो प्रदेशमा प्रदेश सभा सदस्य ८१ जना तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय १५ जना रहेको निर्वाचन आयोगले जनाएको हो ।
कर्णाली प्रदेशमा ४ हजार ४ सय ८८ कुल मतभार छ । सो प्रदेशमा प्रदेश सभा सदस्य ३५ जनाको मतभार १ हजार ६ सय ८० तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख १ सय ५६ जनाको मतभार २ हजार ८ सय ८ छ ।
यसैगरी, सुदूरपश्चिम प्रदेशमा कुल मतभार ५ हजार ६ सय ४६ छ । सो प्रदेशमा प्रदेश सभा सदस्य ५२ जनाको मतभार २ हजार ४ सय ९६ तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख १ सय ७५ जनाको मतभार ३ हजार १ सय ५० छ ।