सर्वोच्च अदालतले कारागार कार्यालय जगन्नाथ देवलमा थुनामा रहेका चार्ल्स शोभराज गुरुमुखको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ ।
बुधबार सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइका लागि उक्त मुद्दाको पेशी तोकिएको थियो ।
न्यायाधीशद्वय श्रेष्ठ र सुवेदीको संयुक्त इजलासले चार्ल्स शोभराजको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखेको सर्वोच्चले जनाएको छ । यसअघि अनिलकुमार सिन्हाको एकल इजलासले शोभराजको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको थियो ।
शोभराजले पुस ७ गते उमेरको आधारमा कैद छुटको माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए । कानुनी व्यवस्था अनुसार ७० वर्ष उमेर पुगेका कैदीबन्दीलाई असर चालचलन भए ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने व्यवस्था छ ।
नेपाली नागरिकलाई जस्तै विदेशी नागरिकको हकमा पनि उक्त व्यवस्था कार्यान्वयन हुनुपर्ने भन्दै उनले कैदमुक्तिको मागसहित यसअघि पनि पटक-पटक निवेदन दिएका थिए । तर अदालतले कैद सजाय मिनाहा गर्न माग गर्दै दिएको रिट खारेज गर्दै आएको छ ।
को हुन् शोभराज ?
विकिनी किलरका रुपमा चर्चित शोभराज २ असोज २०६० मा काठमाडौंको एक क्यासिनोबाट पक्राउ परेका थिए । उनलाई जिल्ला अदालत, भक्तपुरले कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
शोभराजले २१ डिसेम्बर १९७५ मा भक्तपुरमा आरमण्ड लरेन्ट क्यारियरे र त्यसको दुई दिनपछि कोनिजो ब्रान्ची नामक युवतीको हत्या गरेको अभियोग थियो ।
बिकिनी किलर र सिरीअल किलर जस्ता उपनामले पनि चिनिएका शोभराजविरुद्ध भारत, थाईल्यान्ड, टर्की, इरान लगायतका मुलुकमा गरी झन्डै २० जनाभन्दा बढीको हत्या गरेको आरोप छ।