काँग्रेस नेता डा. शेखर कोइरालाले पार्टी सङ्गठनभित्र कसैले कटुता राख्नु नहुने बताएका छन् ।
काँग्रेसको २४ महाधिवेशनमा सभापति पदमा पराजित डा. कोइरालाले बुधबार आफ्नो समूहका नेतासँगको छलफलमा पार्टीभित्र निष्ठावान, त्यागी नेतालाई पाखा लगाउने नियतविरुद्ध डटेर आवाज उठाउने बताएका हुन् ।
‘पार्टी सङ्गठनभित्र कटुता कसैले राख्नुहुँदैन’, डा. कोइरालाले भने, ‘तर, पार्टीमा काम गर्ने निष्ठावान, त्यागी नेतालाई नियोजित रुपमा पाखा लगाउने नियतविरुद्ध हामीले डटेर आवाज उठाउनुपर्छ ।’
महाधिवेशनमा विभिन्न अवरोध भए पनि आफूहरु एक ठाउँमा पुगेको डा. कोइरालाको भनाइ छ । निर्वाचन परिणामबाट निराश हुने अवस्था नरहेको उनले प्रष्ट पारे ।
काँग्रेसको आन्तरिक लोकतन्त्रको प्रक्रियामा आफूहरु समावेश भएको कोइरालाले बताए । ‘पुस्तान्तरण गर्न केही हदसम्म सक्यौँ, अब रुपान्तरण गर्दै जानुपर्ने देखिएको छ’, कोइरालाले भने, ‘कुनै पनि किसिमको निराश भएर यहाँबाट फर्किनुपर्ने म देख्दिन । काँग्रेसलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यमा विश्राम लागेको छैन ।’
केन्द्रीय सदस्यको मनोनयनमा के मापदण्ड बनाइयो भन्ने प्रश्न उठेकोसमेत उनले बताए । ‘केन्द्रीय सदस्यमा नियुक्त सबै साथीहरु सक्षम र योग्य हुनुहुन्छ’, कोइरालाले भने, ‘तर, के मापदण्ड बनाएर यो काम गर्नुभएको हो ? भन्ने प्रश्न उठेको छ ।’