सरकार सञ्चालनका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, राष्ट्रियसभा निर्वाचनलगायतका विषयमा छलफल भएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुस २६ गतेदेखि हुन गइरहेको भारत भ्रमणको विषयमा छलफल भएको बैठकमा सहभागी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणको शुभकामना समेत दिएको छ । यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने संयन्त्रले विश्वास व्यक्त गरेको छ ।
यससँगै, माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा निर्वाचनको सम्बन्धमा पनि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा छलफल भएको छ । बैठकले सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउनसमेत आग्रह गरेको छ ।
सञ्चारमन्त्री कार्कीले राष्ट्रिय सभा सदस्यमा उठेका आफ्ना उम्मेदवारहरूलाई जिताउन गठबन्धनले सातवटै प्रदेशमा संयन्त्र बनाउने निर्णय गरेको बताए । संयन्त्रले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको छ ।
बैठकमा प्रधानमन्त्री देउवासहित सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पष्पकमल दाहाल ’प्रचण्ड’लगायत सत्तागठन्धनका दल र अन्य दलहरुका नेताहरु सहभागी थिए ।