प्रतिनिधिसभा सदस्य प्रदीप यादवले विगतका कमीकमजोरीबाट पाठ सिक्दै आगामी दिनमा नेपालमा पनि संक्रमण फैलिएर हुन सक्ने जनधनको क्षति न्युनिकरणका लागि अहिलेदेखि नै पूर्वतयारीमा जोड दिने आवश्यकता औल्याएका छन् ।
पर्साको क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद्) यादवले बिहिबार एउटा प्रेस विज्ञप्ति जारी गर्दै वैश्विक कोरोना भाईरसको नयाँ भेरिएन्ट ओमिक्रोनले थपेको चुनौतीबाट जोगिन पूर्व तयारी गर्न तिनै तहका सरकारसँग आग्रह गरेका हुन् ।
सांसद् यादवले विज्ञप्ति मार्फत खुला सिमाना भएको स्थानबाट हुने आवागमनलाई कडाई गर्दै भारत लगायत अन्य मुलुकबाट आउने प्रत्येक व्यक्तिको पिसीआर र एन्टीजेन जस्ता परीक्षण गर्नकालागी सिमानाका क्षेत्रमा स्थापित हेल्थ डेस्कहरुलाई थप व्यवस्थित गर्न तथा स्तरोन्नती गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग माग गरेका छन् ।
"वैश्विक कोरोना भाईरसको महामारीले झण्डै २ वर्षसम्म अस्तव्यस्त बनेको विश्वसामु पुनः कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोन चुनौति बनेर सामुन्ने आएको छ,' सांसद् यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'लामो समयको निषेधाज्ञा र बन्दाबन्दीले थला परेको अर्थतन्त्रसँगै नागरिकको दैनिकी पुरानै लयमा फर्किनै लाग्दा नयाँ भेरियन्ट ओमिक्रोनले फेरी विश्व ठप्प बनाउन सक्ने स्वास्थ्यविद्हरुले आँकलन गरीसकेका छन् ।"
परिक्षण र हेल्थ डेस्कहरको स्तरोन्नतिसँगै सिमानाकालगायत अन्य आवश्यक स्थानहरुमा सेमत पूर्व तयारी अनुरुप अहिलेदेखिनै पर्याप्त मात्रामा सुविधायुक्त आइसोलेसन तथा क्वारेन्टाइन सेन्टरहरु निर्माण गर्न सुझावसमेत दिएका छन् ।
अस्पतालहरुमा पनि भेन्टिलेटर तथा अक्सिजनसहितको कोभिड वार्ड, आइसीयू जस्ता महत्वपूर्ण संरचनाहरु तयारी अवस्थामा राख्नुका साथै आवश्यक जनशक्तिको व्यवस्थापनमा जुट्न यादवले आग्रह गरेका छन् । उनले नारायणी अस्पतालमा रहेको अक्सिजन प्लान्टलाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनुपर्ने माग समेत गरेका छन् ।
"पर्सा लगायत तराई-मधेसका अन्य जिल्लाको स्वास्थ्य सेवाको केन्द्रको रुपमा रहेको वीरगञ्जस्थित नारायणी अस्पतालमा स्थापित अक्सिजन प्लान्टलाई यथाशीघ्र सञ्चालन गर्न अस्पताल प्रशासन र स्थानीय सरकारसँग मेरो आग्रह छ," विज्ञप्तिमा उल्लेख छ ।
यादवले कुनैपनि अवस्थामा जनताको सेवाका लागि आफु दिनरात तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्दै सबैलाई आफ्नो स्तरबाट कोभिडसँग जोडिन सजगता अपनाउन सुझाव पनि दिएका छन् ।
कोभिड संक्रमणका कारण ज्यान समेत जानसक्ने बताउँदै मास्क लगाउने, साबुन पानीले समय-समयमा हात धुने, भिडभाड नगर्ने र स्वास्थ्यमा समस्या आउनेबितिकै चिकित्सकसँग परामर्श लिने जस्ता स्वास्थ्य सर्तकता अपनाउन उनले सबैसँग आग्रह गरेका छन् ।