इजरायल सरकारले महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई उच्च प्रविधिको ल्याब सहयोग गरेको छ । आज बिहीवार आविष्कार केन्द्रमा पुगेर नेपालका लागि इजरायली राजदूत हनान गोडेरले आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई ल्याब हस्तान्तरण गरे ।
ल्याबमा बसेर विश्वका विभिन्न देशका विज्ञ तथा वैज्ञानिकसँग पछिल्लो समय विज्ञान र प्रविधिको क्षेत्रमा भएको प्रगतिको सम्बन्धमा छलफल गर्न सकिने जनाइएको छ ।
इजरायलले नेपालमा प्रविधिसहितको ल्याबका लागि सहकार्य गर्न पाएकोमा उनले खुसी व्यक्त गरे । यो ल्याबमा २० जनाको क्षमता रहेको आविष्कार केन्द्रले जनाएको छ । अहिले ३० लाख रुपैयाँ बराबरको प्रविधि राखिएको र लागत अझै बढ्ने बताइएको छ ।