काठमाडौंको बौद्धमा युवक–युवतीको शव भेटिएको छ ।
महानगरी प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार काठमाडौं महानगरपालिका– ६ बौद्धको एक घरमा दुई जनाको शव भेटिएको हो ।
संखुवासभाका २५ वर्षीय अनिस जिमी र खोटाङकी २२ वर्षीया युसिना राई मृत फेला परेका हुन् । राधाकृष्ण मन्दिरस्थित एक घरको कोठामा उनीहरुको शव भेटिएको हो ।
बिहीबार राति पौने १ बजे महानगरीय प्रहरी परिसर काठमाडौं घटनाबारे खबर प्राप्त भएको थियो । खबर प्राप्त भएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । धारिलो हतियार प्रयोग गरि दुवै जनाको हत्या गरिएको देखिएको एसपी मैनालीले बताए ।
मृत दुवै जना २०–२२ दिनदेखि लिभिङ टुगेरमा बस्दै आएको र उनीहरुको चिनजान पब्लिक गेम पब्जीबाट भएको पछिल्लो अनुसन्धानबाट खुलेको मैनालीको भनाइ छ ।
मृतक दुवै जनाको शव पोस्टमाटमा लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । पोस्टमाटपछि थप तथ्य बाहिर आउने उनले बताए ।