प्रदेश २ को नाम तथा स्थायी राजधानी बारे बहस भईरहँदा प्रमुख प्रतिपक्षी दलका प्रदेश सांसदले पार्टी लाईन बाहिर गएर प्रदेशको स्थायी राजधानी बिरगञ्जलाई बनाउनुपर्ने अडान राखेका छन् ।
प्रदेशसभामा जारी ८ औ अधिवेशनले प्रदेशको नाम तथा राजधानी टुंग्याउन सभामुख सरोज यादवको अध्यक्षतामा संर्वदलिय संसदिय समिति समेत गठन गरिसकेको अवस्थामा पर्सा जिल्लाबाट निर्वाचित प्रदेश सांसद प्रहलाद गिरीले बिरगञ्जलाई नै राजधानी बनाउनुपर्ने अडान राखेका हुन् ।
लोसपाबाट प्रतिनिधित्व गर्ने सांसद गिरीको पार्टीले भने प्रदेशको राजधानी जनकपुर तथा नाम मधेश प्रदेश राख्न प्रस्ताव गरिसकेको छ ।
लोसपाले आफुले प्रस्ताव गरेकै नाम तथा स्थानमा सर्वदलिय सहमती जुटाउन बनाएको आफ्नो छुट्टै समितिको सदस्य समेत रहेका सांसद गिरिले आफु पार्टीको लाईनसंग सहमत नभएको बताएका हुन् ।
देशको मुख्य व्यापारीक केन्द्रबिन्दुको रुपमा स्थापित बिरगञ्जलाईनै प्रदेश २ को स्थायी राजधानी बनाउनुपर्ने गिरीको अडान छ ।
प्रदेशको मान मधेश प्रदेश र राजधानी जनकपुरका लागि सत्ताको नेतृत्व गरेको जनता सामाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी लोसपा एकमत छन् ।
प्रदेशसभामा काँग्रेस, एमाले तथा नेकपा (एस) ले अलगै नामको प्रस्ताव गरेपनी राजधानी जनकपुरलाई नै बनाउन प्रस्ताव गरेका छन् ।