तुलसीपुर उपमहानगरपालिकाका विद्यालय माघ ३ गतेसम्मका लागि बन्द हुने भएका छन् । नगर क्षेत्रमा पाँच दिनको अवधिमा ८४ जनामा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द हुने भएका हुन् ।
तुलसीपुर उपमहानगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरी सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गर्ने जनाएको छ ।
विहिबारसम्म गरिएको परीक्षणका क्रममा शिक्षक, विद्यार्थी, कर्मचारी र स्वास्थ्यकर्मीसहित ४० जनामा संक्रमण देखिएपछि सूचना प्रकाशित गरेर पुस २५ गतेदेखि लागु हुने गरी विद्यालय बन्द गर्ने जनाएको को हो ।
पालिकाका शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीका अनुसार तुलसीपुर ८ मा रहेको माध्यमिक विद्यालय अश्वारका पाँच जना शिक्षक र छ जना विद्यार्थीमा संक्रमण देखिएपछि पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ । कुनै समय कोरोना संक्रमण शून्यमा झरेको पालिकामा पाँच दिनकै अवधिमा ८४ जनामा संक्रमण देखिएको हो ।
पालिकाका जन स्वास्थ्य प्रवर्धन शाखाका सम्पर्क व्यक्ति विमल केसीका अनुसार बिहीबार गरिएको परीक्षणका क्रममा तुलसीपुर वडा नम्बर ४ मा रहेको गुरुजजुर माध्यमिक विद्यालयका एक शिक्षकसहित १० जना विद्यार्थीमा संक्रमण देखिएको हो । उनका अनुसार तुलसीपुर ५ मा रहेको माध्यमिक विद्यालय सेन्टरका दुई शिक्षक, १३ जना विद्यार्थीमा संक्रमण देखिएको छ ।
त्यसैगरी ८ जना स्वास्थ्यकर्मी र अन्य ११ गरी कूल ४५ जनामा बिहीबार मात्रै कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएका तीन वटै विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ । केसीका अनुसार विद्यालयमा समेत संक्रमण देखिन थालेपछि अन्य विद्यालयहरू समेत बन्दको तयारी गर्न थालिएको छ ।