कालीगण्डकीको अग्लो खोँच । कतै डोरीमा झुन्डिएर कालीगण्डकीको बहाव नजिकै पुग्ने गरी झोलुङ्गे पुलबाट खसिरहेका देखिन्छन् त कतै एउटै डोरीमा झुन्डिएको एउटा टापुबाट अर्को टापुको गन्तव्य भेट्न एकल डोरीमा कुदिरहेका देखिन्छन् ।
पारिवारिक पिङ, एकल पिङ र अरू प्राकृतिक आकृतिमाथि बनेका कृत्रिम संरचनामा रम्नेहरुको कमी छैन । यस्तै, विभिन्न एड्भेन्चरलगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा विश्वकै अग्लो र लामो व्यावसायिक स्काई साइक्लिङको अर्कै मज्जा छ ।
चार वर्षपहिले देखि नै सञ्चालनमा रहेको साइक्लिङ कोरोनाका कारण रोकियो । महामारीको मार खेपेका व्यवसायीले केही दिन पहिलादेखि साइक्लिङ सुरु गरेका छन् ।
कालीगण्डकी माथिको रिसोर्ट परिसरमा स्काई साइक्लिङ निर्माण गरिएको कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिए । उनका अनुसार साइक्लिङ दुईतर्फी गरेर छ सय मिटरको रहेको छ ।
कोरोना महामारी पछिको समयमा आन्तरिक पर्यटकको चहलपहल बढिरहेको र अङ्ग्रेजी नयाँ वर्षलाई समेत लक्षित गरेर स्काई साइक्लिङ सुरु गरिएको उनको भनाइ छ ।