यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा हुने भएको छ ।
कोरोना महामारीका कारण असारमा मात्र पठनपाठन सुरु भएकाले करिब एक महिना ढिलो गरी एसईई लिने तयारी गरिएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले ७७ वटै जिल्ला र पालिकाबाट चैतभरि पठनपाठन गर्ने सुझाव आएकाले एसईई वैशाखमा लिने निर्णय गरिएको बताए ।
यसअघि संसदीय समितिले एसईई परीक्षा ‘खारेज गर्न’ सुझाव दिएको थियो । तर कुनै पनि शैक्षिक तहको परीक्षा खारेजभन्दा परिमार्जन गर्न उपयुक्त हुने सुझाव विज्ञले दिएका थिए । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाबारे आन्तरिक गृहकार्य भइरहेको जनाए ।
कोरोना महामारीका कारण दुई वर्षयता अनलाइनरभर्चुअल माध्यमबाट पठनपाठन सञ्चालन गरिँदै आएको छ । आर्थिक अवस्था कमजोर रहेका तथा दुर्गम भेगका विद्यार्थीको भर्चुअल कक्षामा पहुँच विस्तार हुन सकेको छैन ।
देशभरका विद्यालयले विद्यार्थीको मूल्यांकन गरी प्राप्तांक पठाएपछि त्यसैअनुसार परीक्षा बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशित गर्ने गरेको छ । गत वर्ष ५ लाख १७ हजार विद्यार्थी एसईईमा सामेल थिए । यो वर्ष परीक्षार्थी संख्या यकिन हुन बाँकी छ ।