नेकपा एमालेको कैलाली जिल्ला समितिको निर्वाचन प्रक्रिया सोमबार बिहानसम्मका लागि स्थगित भएको छ । अध्यक्षका दुई उम्मेदवार पक्षका कार्यकर्ताबीच झडप भएपछि निर्वाचन स्थगित भएको हो ।
अध्यक्ष पदका उम्मेदवारसमेत रहेका निवर्तमान अध्यक्ष रतन थापाले निर्वाचन समिति असक्षम भन्दै भाषण गर्दै नाराबाजी गरेपछि विवाद भएको थियो ।
विवादका क्रममा अध्यक्षका अर्का उम्मेदवार रणबहादुर थापा पक्षले जथाभावी बोलेर प्रतिनिधिहरूलाई भड्काउन नपाइने भन्दै विरोध गरेपछि दुवै पक्षबीच झडप भएको थियो ।
दुवै पक्षबीचको झडपपछि निर्वाचन समितिले भोलि बिहान ८ बजेसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको जनाएको छ । एमालेको कैलाली जिल्ला समितिको अध्यक्षका लागि रतन थापा र रणबहादुर चन्द प्यानलसहित चुनावी मैदानमा छन् । निर्वाचन समितिले सार्वजनिक गरेको नामावली अनुसार १५० पदमा ३२९ जनाको उम्मेदवारी परेको छ।
उपाध्यक्षमा दुर्गा जोशी र सिताराम बुढाथोकीको उम्मेदवारी परेको छ। सचिवमा दान बहादुर विक र डेजि पाण्डेको उम्मेदवारी छ । यस्तै उपसचिवमा मदन ओझा, प्रेम चौधरी, ममता चौधरी, लोकेन्द्र साही र विनय शाहको उम्मेदवारी परेको छ।
१२ पदको खुल्ला पुरुषमा ५७ जनाको उम्मेदवारी छ। खुल्ला तर्फ १२ महिला निर्विरोध निर्वाचित भएका छन्। भूगोलतर्फ निर्वाचन क्षेत्र नम्बर १ बाट २५, २ बाट ३१ जना, ३ बाट २० जना ४ बाट ३० र ५ बाट ३० जनाले मनोनयन दर्ता भएको छ। ५ वटै निर्वाचन क्षेत्रबाट भूगोल महिला ५र५ जनाका दरले २५ जना निर्विरोध निर्वाचित भएका छन् । जनजातितर्फ ३ पदमा ११ जनाको उम्मेदवारी छ। महिलातर्फ २ जना निर्वाचित भइसकेका छन्।
दलिततर्फ ८ पदमा १७ जनाको उम्मेदवारी छ। राना थारुतर्फ ८ जनाको पदमा १५ जनाको उम्मेदवारी छ। राना थारु तर्फ ५ महिला निर्विरोध निर्वाचन भएका छन्। पेसागत खुल्ला तर्फ १ पदमा २ जनाको उम्मेदवार छ। १ पदमा महिला निर्विरोध भएका छन्।
मजदुरतर्फ पुरुष र महिला गरि ३ जना निर्वाचित भएका छन्। दलिततर्फ ८ जनामा १७ जनाको उम्मेदवारी छ भने महिलातर्फ ४ जनाको पदमा ९ जनाको उम्मेदवारी छ। अपाङ्गतर्फ १ पदमा ३ जनाको उम्मेदवारी छ । अल्पसंख्यकमा पनि १ जनाको पदमा ३ जनाको उम्मेदवारी छ।