काठमाडौंको त्रिभुवन विमानस्थलपछी मोफसलको सबैभन्दा व्यस्त सिमरा विमानस्थलको अवस्था दिनप्रतिदिन जर्जर बन्दै गएको छ ।
सात दसक अगाडी २००८ सालदेखी सञ्चालित उक्त विमानस्थलको संरचनालाई व्यवस्थित नगरिंदा यात्रुको चाँप झेल्न समेत समिस्या आईरहेको छ ।
७० वर्ष पुरानो टावर, टर्मिनल भवन, धावनमार्ग, यात्रु प्रतिक्षालय तथा पार्किङलगायतका संरचनाहरुको व्यवस्थापन नहुँदा यात्रुहरुलाई ठुलै समस्याको सामना गर्नुपर्ने भएको हो ।
विमानस्थल सञ्चालनको अन्तर्राष्ट्रिय मापदण्ड समेत नपुगेको सिमरामा यात्रुको बढ्दो चाँपले दिनप्रतिदिन अवस्था बिग्रदैं गएको छ ।
बारा, पर्सा, रौतहट, मकवानपुर तथा भारतको पटनासम्मको यात्रु एवम विरगञ्ज–पथलैया औद्योगिक कोरिडोरका उद्यमी, व्यवसायी, नेता, उच्च स्तरका व्यक्तिहरुको मुख्य गन्तव्य रहेको सिमरा विमानस्थलमा दैनिक दुईहजारसम्म यात्रुहरुले यात्रा गर्ने गरेका छन् ।
सिमराबाट बुद्ध, यती, श्री र गुण एयरलाइन्सले दैनिक ५ देखि १५ उडान भर्नेगरेका छन् । एयरलाईन्स कम्पनीहरु बढेसंगै बढेको यात्रुको चाँपलाई थेग्न वर्तमान संरचनाले सम्भव देखिदैन ।
काठमाडौंबाट सबैभन्दा छोटो दुरीको यात्रा हुने सिमराबाट उडान भर्ने यात्रुहरुको संख्या दिनप्रतिदिन बढैदै गएपनी विमानस्थलको व्यवस्थापनमा खासै चासो लिईएको देखिदैन् ।
यात्रुहरुकोलागी शौचालयको समेत उचित व्यवस्थापन नहुँदा यात्रुहरुलाई समस्या हुने गरेको छ ।
चाप बढ्दै जाँदा संरचना पनि विस्तार गर्नुपर्ने भएपनि त्यसतर्फ सरोकारवालाको ध्यान नपुग्दा यसको प्रत्यक्ष मारमा यात्रुहरु परेका हुन् ।