सकृय सदस्यता विवादका कारण अधिवेशन हुन नसकेको नेपाली काँग्रेसको १६ जिल्ला मध्ये बारा जिल्ला सबैभन्दा विवादीत रह्याे ।
दुई गुटमा बाँडिएका जिल्लाका काँग्रेसी नेताहरु पार्टी केन्द्रिय कार्यालय सानेपामा १ महिना भन्दा बढी समय धरनामै बसे ।
काँग्रेसले १४ औ केन्द्रिय महाधिवेशनपछी मात्रै बारा लगायत विवादीत १६ जिल्लाको अधिवेशन गर्ने भनेपछी विवादलाई थांती राख्दै नेताहरु वडा, पालिका, प्रादेसिक क्षेत्र, क्षेत्र तथा प्रदेश र केन्द्रिय अधिवेशनमा लागे ।
केन्द्रको अधिवेशन सकिएपछी अहिले पुनः १६ जिल्लाकै काँग्रेसीहरु जिल्ला अधिवेशन तर्फ अग्रसर भएका छन् ।
बारा जिल्लामा भने सभापतीका लागी आधिकारीक रुपमा ३ जना उम्मेदवारहरुले प्रचार–प्रसार थालेका छन् ।
पुष २७ गते गर्ने भनिएको अधिवेशन माघ १५ गते सारिएपछी नेताहरु आ–आफनो तयारीमा लागेका हुन् ।
काँग्रेस बाराको सभापतीमा देउवा पक्षमै २ धार देखिएको छ । सो समुहबाट शम्भु बहादुर बुढाथोकी र राजेश राय यादवले सभापतीको दावेदारी गरेका छन् । भने शेखर कोईराला पक्षबाट रामानन्द यादवले दावेदारी पेश गरेका छन् ।
वडादेखी क्षेत्र, प्रदेश तथा केन्द्रिय महाधिवेशनसम्म एउटै गुटमा रहेका बुढाथोकी र राजेश राय यादव अहिले गुटभित्रै अर्कै–अर्कै समुह बनाएर आ–आफ्नो उम्मेदवारी पेश गरेका हुन् ।
नेपाली काँग्रेसका नवनिर्वाचित सहमहामन्त्री फर्मुल्लाह मंसुरको डाईरेक्ट सपोट रहेको बुढाथोकीलाई बाराको ४ मध्ये २ क्षेत्रिय सभापतीले सपोर्ट गरेका छन् ।
क्षेत्र नं.१ का सभापती तथा सिम्रौनगढ नगरपालिकाका मेयर विजयशंकर यादव तथा क्षेत्र नं.३ का सभापती प्रभात चौरसियाको सपोर्ट बुढाथोकीलाई छ ।
त्यसैगरी क्षेत्र नं.२ सभापतिमा कोईराला समुहबाट लडेर पराजित भएका महागढिमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले समेत बुढाथोकीलाई सपोर्ट गरेका छन् ।
यता देउवा पक्षकै अर्का उम्मेदवार कलैया उपमहानगरपालिकाका मेयर समेत रहेका राजेश राय यादवको समर्थनमा समेत २ क्षेत्रिय सभापती रहेका छन् ।
क्षेत्र नं.२ सभापती रामप्रवेश यादव तथा क्षेत्र नं.४ का सभापती सुनिल गुप्ताले यादवलाई सपोर्ट गरेका छन् ।
शेखर कोईराला समुहका उम्मेदवार रामानन्द यादवको समर्थनमा भने खानेपानी मन्त्री तथा काँग्रेसका सहमहामन्त्री उमाकान्त चौधरी सहित दुई संबिधानसभा सदस्य लगायतका नेताहरु रहेका छन् ।
संबिधानसभा सदस्य रामअयोध्या प्रसाद यादव तथा लालबाबु सिंह, जिल्ला बिकाश समितिका पुर्व सभापती राजेन्द्र प्रसाद यादव, नेबिसंघका निवर्तमान सहमहामन्त्री राजेश रौनियार लगायतका नेताले रामानन्द यादवलाई सपोर्ट गरिरहेका छन् ।
माघ १५ गते हुने जिल्ला निर्वाचनका लागी तिनवटै पक्ष आफ्नो प्यानल बनाउन अग्रसर देखिएका छन् ।
यस्तो छ तथ्यांक
जिल्ला अधिवेशनका लागि बारा जिल्लामा काँग्रेसको लगभग २ हजार ५ सय प्रतिनिधि (भोटर) रहेका छन् ।
क्षेत्रिय अधिवेशनको तथ्यांक हेर्ने हो भने खसेको कुल २ हजार ४ सय २० मत मध्ये देउवा पक्षलाई १ हजार ३ सय २० मत परेको थियो । भने कोईराला समुहलाई १ हजार १ सय मत परेको थियो ।
जिल्ला अधिवेशनमा सोहि अनुपातको मत खंसे देउवा पक्षको मत दुई गुटमा बाँडिने देखिन्छ । कोईराला पक्षका केहि नेता शम्भु बुढाथोकीको गुटमा लागेको अवस्थामा ८० देखि १०० भोटसम्म घटेको अवस्थामा पनी पहिलो नम्बरमा रामानन्द यादव नै हुने आंकलन छ ।
यसरी काँग्रेसको त्रिपक्षिय भिडन्तले जिल्लामा कौतुहलताको माहौल सृजना हुनु स्वभाविक नै हो ।
को हुन् तिनै उम्मेदवार ?
सभापतीका तिनै उम्मेदवार मध्ये राजेश राय यादव नयाँ राजनितिज्ञ हुन् । पुर्व सांसद राधेचन्द्र यादवका छोरा राजेशको राजनितिक ईतिहाँस ५ वर्ष पुरानो मात्रै छ । पटक–पटक काँग्रेसको जिल्ला सभापती भएका राधेचन्द्रले स्थानिय निकायको निर्वाचनमा एकाएक राजेशलाई टिकट दिएर बिजयी बनाएका थिए ।
जिल्लाका काँग्रेसी नेताहरुले फिटिक्कै नरुचाएको यादवको उक्त निर्णयकै कारण राजेशले बुवाको राजनितिक हैसियतको फाईदा लिएर एकैपटक कलैया उपमहानगरपालिकाको मेयर बनेका थिए ।
पार्टीको कुनै कार्यकारी पदमा नरहेका राजेश अहिले एकासी जिल्ला सभापती बन्ने दाउंमा लागेका हुन ।
लामो राजनितिक ईतिहाँस भएको रामानन्द यादव भने बारा काँग्रेसको जानामाना नाम हुन् । २०७४ सालको निर्वाचनमा बारा क्षेत्र नं.३ (क) बाट प्रदेशसभा उम्मेदवार भएका रामानन्द झिनो मतान्तरले पराजित भएका थिए । उनि यसअघी पनि बारा काँग्रेसको सभापतीमा दुई पटक लडेर पराजित भईसकेका छन् ।
यता ठेकेदारी व्यवसायबाट राजनितिमा छिरेका शम्भु बुढाथोकी पनी काँंग्रेसमा चिनिएको अनुहार हुन ।
संबिधानसभाको दोश्रो निर्वाचनमा बाराको तत्कालिन निर्वाचन क्षेत्र नं.६ बाट उम्मेदवार बनेका बुढाथोकी एमाले नेता तथा पुर्वमन्त्री पुरुषेत्तम पौडेलबाट पराजित भएका थिए ।