जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ललिता निवास प्रकरणको किर्ते मुद्दासम्बन्धी फाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई नै फर्काइदिएको छ ।
प्रमाण जुटाउन नसकेको र अझै अनुसन्धान नपुगेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ललिता निवास प्रकरणको किर्ते मुद्दासम्बन्धी फाइल सोमबार सीआईबीलाई नै फर्काइदिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख गंगा पौडेलले थप अनुसन्धान गर्नुपर्ने देखिएकाले सो प्रतिवेदन फिर्ता पठाइएको बताए ।
सिआइवीले ३०० भन्दा बढीलाई अभियुक्त बनाएर प्रतिवेदन बुझाएको थियो ।
उक्त मुद्दाको हद म्याद दुई वर्षको हुन्छ । त्यसैले यही पुस २७ गते भित्रमा अदालतमा अभियोगपत्र दर्ता गर्नैपर्छ । तर, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले फाइल सीआईबीलाई नै फर्काइदिएपछि मुद्दा नै अन्योलमा परेको छ ।
तर, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले यो पुरानो मुद्दा भएकाले जहिले पनि दायर गर्न मिल्ने दावी गर्दै आएको छ ।