प्रदेश २ को स्थायी राजधानी र नाम मतदान प्रक्रियाबाटै टुंग्याइने सहमति भएको जनाइएको छ ।
स्थायी राजधानी र नामका लागि प्रदेश सभामा पेस भएका प्रस्तावहरुमध्ये कुनैमा पनि सहमति जुट्न नसकेपछि अब मतदान प्रक्रियाबाटै टुंग्याइने दलहरूबीच छलफल भएको प्रदेशसभा सचिवालयले जनाएको। छ।
सभामुख यादवको सभापतित्वमा प्रदेशको स्थायी राजधानी र नामका लागि प्रस्तावमा छलफल गर्न संसदीय समितिको आइतबार बसेको सर्वदलीय बैठकमा नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको सचिवालयका निमित्त सचिव रञ्जित यादवले बताए ।
निमित्त सचिव यादवका अनुसार माघ पहिलो सातामै मतदान प्रक्रियाबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउने सहमति भएको छ । समितिले प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुरधाम र वीरगञ्जमाथि सांसदहरूबीच छलफल सकेर संसदीय दलका नेताहरूसँग छलफल गरेको थियो । तर कुनै प्रस्तावमा सहमति नभएपछि मतदानका लागि सहमति भएको हो ।