प्रधानमन्त्री कप टी-२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश-२ ले पहिलो हात पारेको छ । समूह बी अन्तर्गत मंगलबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश २ ले गण्डकी प्रदेशलाई २ विकेटले पराजित गरेको हो ।
गण्डकीले दिएको ११७ रनको लक्ष्य प्रदेश २ ले १८.१ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो । प्रदेश २ का लागि कप्तान हसिम अन्सारीले सर्वाधिक २६ रन बनाए भने सन्तोष कार्कीले २३ रन जोडे । उनले समान दुई चौका र दुई छक्का प्रहार गरे । हरीकृष्ण झाले १७ रन बनाए । गण्डकीका कृष्ण पौडेलले सर्वाधिक ३ तथा विशाल पौडेल र सुवास भण्डारीले २-२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११६ रन बनाएको थियो । गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ४१ रन बनाए भने सन्दीप क्षेत्रीले २७ रन जोडे । प्रदेश २ का आदिल आलमले २ तथा जितेन्द्र यादव, हरिशंकर शाह र विवेक यादवले समान १ विकेट लिए ।