भारतमा कोरोना भाइरसबाट एकैदिनमा झण्डै दुई लाख नयाँ सङ्क्रमित थपिएका छन् ।
सरकारी अधिकारीहरूले बुधवार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ९४ हजार ७२० जना नयाँ सङ्क्रमित थपिएका छन् ।
मन्त्रालयले भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ६० लाख ७० हजार ५१० पुगेको जनाएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने नौ लाख ५५ हजार ३१९ रहेको मन्त्रालयले जनाएको छ ।
दैनिक नयाँ सङ्क्रमितहरूको वृद्धिदर ११।५ प्रतिशत रहेको मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् । महामारीको प्रभाव सबैभन्दा बढी अहिले पनि महाराष्ट्र प्रदेशमा देखिएको छ । महाराष्ट्रमा मात्रै एक दिनमा थप ३४ हजार ४२४ नयाँ सङ्क्रमित थपिएका छन् ।
दोस्रो धेरै दिल्ली प्रदेशमा २१ हजार २५९ र कर्नाटकमा १४ हजार ४७३ जना नयाँ सङ्क्रमित थपिएको अधिकारीहरूले जनाएको छ । नयाँ सङ्क्रमित मध्ये चार हजार ८६८ जना ओमिक्रोन भाइरसबाट सङ्क्रमितहरू रहेको जनाइएको छ ।
अघिल्लो दिन सोमबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो २४ घण्टामा भारतमा एक लाख ७९ हजार ७२३ जना सङ्क्रमित भएको उल्लेख गरिएको थियो ।
भारतमा सक्रिय सङ्क्रमित र नयाँ सङ्क्रमित दुवैको सङ्ख्या तीव्र रुपमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ । भारतमा मङ्गलवार आठ लाख २१ हजार ४४६ जना सक्रिय सङ्क्रमित रहेका थिए । एएनआई