सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयहरूले आवश्यक कडाई गर्न थालेका छन् । यसै क्रममा बुधबार कैलाली, कञ्चनपुर, डोटी, बैतडी र डडेल्धुरा जिल्ला प्रशासन कार्यालयहरुले आदेश जारी गरेका छन् ।
बुधबार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले कडाई गर्न सिफारिस गरेसँगै जिल्ला प्रशासन कार्यालयहरुले आदेश जारी गर्दै मेला महोत्सव र सार्वजनिक भेला गर्नमा रोक लगाएका हुन् ।
त्यस्तै, २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न, होटल, रेस्टुरेन्ट सिनेमा हल, रङ्गशाला, हवाई यात्रामा र सार्वजनिक स्थलमा जाँदा माघ ७ गतेदेखि कोभिड विरुद्धको खोप लगाएको कार्ड साथमा राख्नुपर्ने आदेशमा भनिएको छ ।
सुदूरपश्चिम महोत्सव स्थगित
धनगढीमा आगामी माग १८ गतेदेखि हुने भनिएको सुदूरपश्चिम महोत्सव स्थगित गरिएको छ ।
आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले बुधबार एक सुचना जारी कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै महोत्सव अर्को सुचना जारी नभए सम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो ।