चौँरीपालनमा बढी सम्भावना भएको उत्तरी नाम्खा गाउँपालिका–६, लिमीमा दुई वर्षमै चौँरीको सङ्ख्या दोब्बर पुगेको छ ।
चौँरीपालन व्यवसायमा किसानलाई आकर्षित गर्न लिमीमा चौँरी स्रोत केन्द्र स्थापना भएपछि चौँरीको सङ्ख्या दोब्बर भएको हो ।
चौँरीपालन विस्तारका लागि २०७६ सालमा स्रोत केन्द्रको स्थापना गरिएको थियो । चार जना चौँरीदारले स्रोत केन्द्र हेर्दै आएका छन् । केन्द्रबाट छुर्पी, घिउलगायतका दुग्धजन्य वस्तु बिक्रीबाट पनि स्रोत केन्द्रको आम्दानी सुरु भइसकेको छ ।
भेटेरिनरी अस्पताल तथा पशु विकास कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढथापाले दुई वर्षअघि स्थापना भएको लिमीको चौँरी स्रोत केन्द्रमा सङ्ख्या दोब्बर पुगेको बताए ।
उनल स्थापना कालमा ७० वटा चौँरी खरिद गरेर स्रोत केन्द्र सञ्चालनमा आएकामा अहिले त्यो सङ्ख्या बढेर १४२ पुगेको जानकारी दिए। अझै धेरै चौँरी गाई ब्याउने अवस्थामा भएकाले यो सङ्ख्या आगामी जेठ असारसम्म अझै बढ्ने बताए ।
सम्भावना भएकै कारण कार्यालयले लिमीमा स्रोत केन्द्र स्थापना गरेर व्यावसायिक चौँरीपालन सुरु गरेको उनले बताए । यसका लागि दुई वर्ष लगातार एकरएक करोड रुपियाँ बजेटको व्यवस्था गरिएको छ । यस वर्ष पनि चौँरीपालनकै लागि ५० लाख रुपियाँ बजेटको व्यवस्था कार्यालयले गरेको र त्यसबाट पनि चौँँरीको सङ्ख्या पनि थपिने भएको छ ।
लिमीका वडाध्यक्ष पाल्जोर तामाङ लिमीकै तुम्लिङमा स्थापना भएको स्रोत केन्द्रमा चौँरीको सङ्ख्या छोटो समयमा उल्लेख्य वृद्धि भएको बताए ।