स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकार तत्काल लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्।
बिहीवार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरे पनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताएका हुन्।
उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने बताए।
मन्त्री खतिवडाले सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले लकडाउन हुन्छ भनेर आत्तिनु नपर्ने बताए। उनले हामी आत्तिएर, मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा नभएकोमा जोड दिए ।
सबै ठाउँमा आइसोलेशन वार्डहरु, आईसीयू, अक्सिजन, पहिलो भेरियन्टको बेला भन्दा दुई तीन गुणामाथि इक्वीपमेण्ट र टेण्ट भएका तयार गरिएको उनको भनाइ छ। नागरिकलाई असजिलो पर्दा सरकार तयारीका साथ बसेको उनले दावी गरे।