चिकित्सा शिक्षा आयोगले मेडिकल इन्टर्नशिप विद्यार्थीहरु (चीन)को व्यवस्थापन गर्न लापरवाही र ढिलासुस्ती गरेको छ ।
पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा भर्ना भएका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टर्नशीप गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको थियो ।
तर, निर्णय भएको दुई हप्ता हुँदा पनि उक्त निर्णय कार्यान्वयन गर्न आयोगले लापरवाही र ढिलासुस्ती गरेको हो । चीनबाट एमबीबीएस अध्ययन गरेका २०१५ र १६ औँ ब्याचमा विद्यार्थीहरुले तत्काल इन्टर्नशीपको व्यवस्था गरिदिन आयोगलाई आग्रह गरेका छन् । साथै, उनीहरुले अन्य सम्बन्धित निकायलाई पनि यस विषयमा गम्भीर बन्न आग्रह गरेका छन् ।
उनीहरुले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट कार्यदल गठन गर्न चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई पत्र गइसकेको जानकारी पएका छौं । हामीलाई आशा थियो की छिट्टै कार्यदल गठन भएर हाम्रो बिषयमा छलफल भएर नतिजा आउनेछ । तर अहिलेसम्म कार्यदल बनेको छैन । यति ढिला सुस्ती देखाउने निकाय को के काम ।’
कार्यदल बनाएर समस्याको समाधान गरिदिन आयोगसमक्ष विद्यार्थीले माग गरेका छन् । बढ्दो कोरोना महामारीको समयमा यथाशीघ्र अस्पतालहरूमा व्यवस्थापन गरी बिरामीहरूको सेवा गर्न पाए भाग्यमानी अनुभूति हुने उनीहरुले बताएका छन् ।