नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको सार्वजनिक अभिव्यक्तिबारे नेपाल सरकारको अस्वाभाविक एवम् रहस्यमय मौनताप्रति विवेकशील साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने मोदीका अभिव्यक्तिबारे नेपाल सरकारको रहस्यमय मौनताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरी संविधान संशोधनमार्फत निसान छापमा उक्त नक्सा राखिसकिएको अवस्थामा मोदीको अभिव्यक्ति जति आपत्तिजनक छ, त्यति नै आपत्तिजनक नेपाल सरकारको मौनता र लाचारी पनि रहेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कूटनीति निःसन्देह आवेग र उत्तेजनाको विषय हैन । तर अन्तर्राष्ट्रिय कानुन विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि लगातार ठाडो हस्तक्षेप गर्ने भारतको मिचाहा प्रवृत्ति पुनरावृत्त हुँदा नेपाल सरकारले समयमै आवश्यक प्रतिवाद गर्न नसक्ने हो भने त्यसका दूरगामी असर मुलुकले भोग्नुपर्ने हुन्छ ।’
नेपाली भूमिमा गरिआएका सबै खाले संरचना निर्माण कार्य तत्काल रोक्नुपर्ने दह्रो अडानसहित भारतसँग अविलम्ब कूटनीतिक संवाद अघि बढाउन विवेकशील साझा पार्टीले सरकारलाई आग्रह गरेको छ ।