एक हप्ताभित्र दोस्रो पटक कोभिड परीक्षण गराउँदा नेगेटिभ आएपछि प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबारबाट नियमित काममा फर्किएका छन् ।
शुक्रबार मन्त्रीपरिषदको बैठक पनि बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा हुने अरु कार्यक्रममा पनि प्रधानमन्त्री देउवाले सहभागिता जनाउन सुरु गरेका छन् ।
बिहीबार गरिएको कोभिड परीक्षणमा पनि प्रधानमन्त्री देउवाको रिपोर्ट नेगेटिभ आएको छ भने यस अघि गत सोमबार गरिएको परीक्षणमा पनि नेगेटिभ आएको थियो ।
गत शनिबारदेखि राजनीतिक भेटघाट, औपचारिक कार्यक्रमलाई स्थगित गर्दै आइसोलेसनमा बसेका देउवा आजबाट सबै कार्यक्रममा सहभागी भएका छन् ।
सर्वदलीय तथा सत्ता गठबन्धनका बैठकमा सँगै सहभागी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसहित केही नेताहरुमा कोभिड संक्रमण देखिएपछि प्रधानमन्त्री देउवाले गत शनिवारबाट प्रधानमन्त्री निवास बालुवाटार र सिंहदरबारका सबै कार्यक्रम स्थगित गरेर आइसोलेसनमा बसेका थिए ।