गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।
सोमबार नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठ, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र र जिल्ला समन्वय समिति महासंघका अध्यक्ष नवराज गेलालले संयुक्त विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न सरकार र आयोगको ध्यानाकर्षण गराएका हुन् ।
‘निर्वाचित जनप्रतिनिधिहरूको अवधि क्रमशः २०७९ जेठ ७, असार २१ र असोज ७ गते सकिने भएकाले दोश्रो कार्यकालको लागि तत्काल निर्वाचन प्रक्रिया सुरू गर्न नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गर्दछौं’, संयुक्त वक्तव्यमा भनिएको छ ।
स्थानीय तहको निर्वाचन भएको पाँच वर्षको कार्यकाल समाप्त हुँदैछ । संविधान र विद्यमान कानुनअनुसार स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र अनिवार्य रुपमा गरिसक्नु पर्नेछ ।
निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले कम्तीमा १ सय २० दिनको समय चाहिने बताइरहेको अवस्थामा सरकारले तत्कालै स्थानीय तहको चुनावको मिति घोषणा गर्नुपर्नेछ ।
