गैर आवासीय नेपाली संघ (एनआरएन)ले धनगढी उपमहानगरपालिका मार्फत रगत संकलन गर्ने बस नेपाल रेडक्रस सोसाइटी कैलालीलाई हस्तान्तरण गरेको छ ।
६० लाख रुपैया मुल्यको उक्त बस एनआरएनका अध्यक्ष कुमार पन्तले धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड र रेडक्रसका सभापति उत्तम जोशीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन ।
नेपाल बाहिर रहेका नेपालीहरुले संकलन गरेको रकमबाट उक्त बस खरिद गरि हस्तान्तरण गरेको एनआरएनका अध्यक्ष पन्तले बताए । उनले चितवन पछि दोश्रो बस कैलालीलाई उपलब्ध गराएको बताउदै यसले रगत संकलनमा सहयोग पुग्ने बताए ।
धनगढी उपमहानगरपालिकाले उपमहानगरपालिका भित्रका विपन्न जनतालाई निशुल्क रुपमा रगत उपलब्ध गराउदै आएको बताउदै मेयर वडले एनआरएनले रगत संकलन बस हस्तान्तरण गरेर रगत संकलन कार्यमा अझै टेवा पुर्याउने बताए ।
बस हस्तान्तरण कार्यक्रम त्रिपक्ष सम्झौता गरिएको छ । जस अन्तर्गत बस संचालन प्रकृयाको एनआरएनलाई जानकारी गराउनु पर्ने, बसको मर्मत लगायतका कामहरु उपमहानगरपालिकाले गर्ने र बस संचालनको सम्पुर्ण जिम्मेवारी रेडक्रस कैलालीले लिने गरि सम्झौता भएको रेडक्रसका सभापति उत्तम जोशीले बताए । रगत संकलन बस हस्तान्तरण कार्यक्रममा रक्तदान दीपक उपाध्यायले ९६ औं पटक र रेडक्रसका उप(कोषाध्यक्ष गोबिन्द जोशीले रक्तदान गरेका थिए ।