नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा समूह‘ए’को विजेता पुलिस क्लब बागमती प्रदेशलाई ५० रनले हराउँदै फाइनल प्रवेश गरेको हो ।
पुलिसले दिएको १५६ रनको लक्ष्य पछ्याएको बागमतीले १०५ रन मात्रै बनाउन सक्यो ।
बागमतीका लागि आदिल खानले २७, कप्तान ज्ञानेन्द्र मल्लेले २३, रामनरेश गिरीले २२ र रिजन ढकालले १५ रन बनाए ।
पुलिसका दिपेन्द्र सिंह ऐरीले ५, सागर ढकालले २ र आरिफ शेखले १ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ५ विकेट गुमाउँदै १५५ रन बनाएको थियो ।
उसका लागि पवन सरार्फले ५९, दिलिप नाथले ३१, अनिल शाहले २५, आरिफ शेखले १२ रन बनाए ।
बागमतीका नन्दन यादव र रिजन ढकालले २–२ तथा प्रतिश जिसीले १ विकेट लिए ।
दोस्रो सेमिफाइनल खेलमा समूह‘बी’को विजेता टोली एपीएफ र समुह‘ए’को उपविजेता त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्दैछन् । यो खेलको विजेताले उपाधिका लागि पुलिससँग प्रतिस्पर्धा गर्ने छ ।
पुष १६ गतेदेखि सुरु भएको प्रतियोगितामा तीन विभागीय र सात प्रदेश गरी १० टोलीको सहभागिता थियो ।