शिवराज नगरपालिका–१० का वडाध्यक्ष मन्जु मिश्राले सिफारिस दिन अस्वीकार गरेकी छन् ।
मिश्राले राजनीतिक प्रतिशोधको कारण आफुलाई चौकिल्ला सिफारिस नदिएको उक्त वडाको सितलापुरका रउफ धोवीले गुनासो गरे । त्यसबारेमा नगरपालिका कार्यालय पुग्दा पनि कुनै सुनावाई नभएको उनको दुखेसो छ ।
धोबीले आफ्नो नम्बरी जग्गामा सडक निर्माण गर्न खोज्दा सितलापुरका रामकिशोर कहार, साधु शरण कुर्मी र सुर्य प्रसाद कुर्मीविरुद्ध जिल्ला अदालतमा मुद्दा दिएका थिए ।
अध्यक्ष मिश्राले नगरको योजना र कार्यकर्ताको विरोध गरेकोले धोबीलाई चार किल्ला सिफारिस नदिएको बताइन् । उनी भन्छन्, ‘धोवीलाई कुनै पनि हालतमा सिफारिस दिन्न ।’
यता, नगर प्रमुख नेत्रराज अधिकारी सिफारिस दिने अधिकार वडाध्यक्षको रहेको भन्दै पन्छिए ।
प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले रित पूरा गरेको आएको कुनै पनि सिफारिस कसैले पनि रोक्न नमिल्ने बताउँछन् । पीडित धोबीको समस्या समाधानका लागि नगरपालिका र वडाध्यक्ष जिम्मेवार बन्नुपर्ने उनले बताए ।