लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोले मधेस प्रदेशले पहिचान स्थापित भएको भन्दै अधिकार प्राप्तीको ढोका खुला भएको बताएका छन् ।
प्रदेश नम्बर २ को नाम मधेस प्रदेश भएपछि राष्ट्रिय सिमान्तीकरण विरुद्ध अभियान नेपालले मंगलबार काठमाडौंमा गरेको बधाइ कार्यक्रममा महतोले प्रदेशको पहिचान नभएसम्म अधिकार पाउन नसकिने अवस्थाको अन्त्य भएको बताए ।
अधिकार, पहिचान र बहुलराज्य मान्यतालाई स्थापीत गराउने आफुहरुको अभियान सफलतातर्फ अघि बढेको उनको भनाइ छ । महत्तोले पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानको नारा लगाएपनि अधिकांश प्रदेशले पहिचान पाउन नसकेको जिकिर गरे ।
सोमबार बसेको प्रदेशसभाको बैठकले प्रदेश २ को नाम मधेश र राजधानी जनकपुरधामलाई बहुमतले पारित भउको हो । प्रदेश २ को नाम मधेश प्रदेश राख्नु पर्ने प्रस्तावको पक्षमा ८० मत प्राप्त भएपछि मधेश प्रदेश बहुमतले पारित भएको थियो ।