स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू तत्काल बन्दाबन्दी गर्ने पक्षमा नभएको स्पष्ट पारेको छ ।
प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले मन्त्रालय बन्दाबन्दीको विरुद्धमा रहेको बताए ।
देशमा बल्लबल्ल अलिअलि उकालो लागेको अर्थतन्त्र फेरि नबिग्रियोस् भन्नेमा मन्त्रालय प्रष्ट रहेको उनले बताए । ‘कतिपय क्षेत्र बन्द गर्नुपर्ने हो भने दुईतीन हप्ता बन्द गरेर पुनः सञ्चालन गर्न सकिन्छ’ उनले भने ।
१८ वर्षमुनिका बालबालिकाका लागि खोप सञ्चालन गरिरहे पनि विद्यालय बन्द भएकाले व्यवस्थापन केही असहज भएको सचिव पोखरेलको भनाइ छ । केही समय पहिले शीतलहरका कारण तराईमा लगाउन नसकिएको खोप ल्याएर भक्तपुरमा लगाइएको उनले जानकारी दिए।
अहिले खोप केन्द्रमा भइरहेको भीड व्यवस्थापनमा अरु निकायले पनि ध्यान दिनुपर्नेमा उनको जोड छ । उनले भने, ‘खोप केन्द्रमा रहेका कर्मचारीले खोप लगाउने, दर्ता गर्नेलगायतका काममा लाग्ने भएकाले प्रशासन र स्थानीय तहले भीड व्यवस्थापनमा लाग्नुपर्छ ।’