हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका थोरै स्थानमा हुस्सु-कुहिरो लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान मौसम विश्लेषण गर्दै जारी गरेको विज्ञप्तिअनुसार हाल प्रदेश नं १ र मधेस प्रदेशलगायत पहाडी भू-भागहरुमा आंशिक बदलीको अवस्था रहेको छ ।
महाशाखाकाअनुसार देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। देशभर अझै बढ्ने क्रममा रहेको चिसोबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोधसमेत गरिएको छ ।
बिहीबार भने देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
त्यस्तै शुक्रबार देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। हरेक प्रदेशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।