जानीजानी आफूलाई कोरोनाभाइरस सारेकी चेक रिपब्लिककी एक लोक गायिकाको मृत्यु भएको उनको परिवारले बताएको छ ।
५७ वर्षीया हाना होर्काले कोभिड–१९ विरुद्धको खोप लगाएकी थिइनन्। परीक्षणमा सङ्क्रमण पुष्टि भएपछि उनले सामाजिक सञ्जालमा आफू निको हुँदै गरेको लेखेकी थिइन् । तर त्यसको दुई दिनपछि उनको मृत्यु भयो ।
उनका छोरा यान रेकले निश्चित स्थानमा प्रवेशका लागि हालै कोभिड भएर निको भएका मानिसलाई दिइने ‘रिकभरी पास’ पाउन उनी सङ्क्रमित भएको बताएका छन् । घरमा आफू र बुवालाई सङ्क्रमण भएको तर आमाले आफूहरूसँग दूरी कायम नगरी सँगै बसेको उनले जानकारी दिए ।
‘हामीलाई सङ्क्रमण पुष्टि भएपछि वहाँ एक साता हामीभन्दा अलग्गै बस्न पनि सक्नुहुन्थ्यो। तर आमा जतिबेला पनि हामीसँगै बसिरहनुभयो’, उनले भने ।
रेक र उनका बुवाले कोभिड–१९ विरुद्धको खोप लगाए पनि हाना होर्काले खोप लगाएकी थिइनन् ।
हाना होर्का चेक रिपब्लिकको सबैभन्दा पुरानोमध्येको एउटा एसोनन्स समूहसँग आबद्ध थिइन् । छोरा रेकका अनुसार हाना होर्का हिँडडुलमा अवरोध कम होस् भनेर आफूलाई सङ्क्रमण सार्न चाहन्थिन् ।
‘अब थिएटर, साउना र कन्सर्ट हुनेछ’, मृत्यु हुनुभन्दा दुई दिन अघि उनले सामाजिक सञ्जालमा आफू निको हुँदै गरेको जानकारी गराउँदै लेखेकी थिइन् ।
आइतवार बिहान उनले आफूलाई सन्चो हुँदै गरेको भन्दै घुमेर आउन लुगा समेत लगाएकी थिइन् । तर अचानक ढाड दुखेर समस्या आएपछि उनी ओछ्यानमा सुतिन् । त्यसको १० मिनेटमै सबै सकियो । उनको श्वास अवरुद्ध भयो र मृत्यु भयो ।
खोपबारे फैलिएका अफवाहमा विश्वास गरेका कारण आफ्नी आमाले खोप नलगाएको भन्ने कुरा सत्य नभएको रेकको भनाइ छ । ‘उनको मान्यता के थियो भने खोप लगाउनुभन्दा कोभिड भएकै ठिक छ । खोपबाट शरीरमा माइक्रोचिप्स हाल्छन् भन्ने जस्ता कुरामा विश्वास गरेका कारण नलगाएको चाहिँ होइन’ रेकले भने ।
खोपबारे कुरा गर्दा आमा अलि भावुक हुने गरेकाले उनीसँग धेरै कुरा गर्न नसकिएको रेक बताउँछन् । उनले अब आफूले भोगेको पीडा सुनाएर अरूलाई पनि खोप लगाउन प्रेरित गर्न सकिने विश्वास लिएका छन् । बीबीसी